उज्वेकिस्तानबाट स्वदेश फर्किए सभामुख घिमिरे

काठमाडाैं । अन्तरव्यवस्थापिका संघको १५०औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी भएर सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन्।
सभामुख घिमिरेसहितको नेपाली प्रतिनिधिमण्डल उज्वेकिस्तानको तास्केन्टमा सम्पन्न सम्मेलनमा सहभागी भएर बिहीबार अपराह्न काठमाडौं अवतरण गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि सभामुख घिमिरेले उज्वेकिस्तान भ्रमण फलदायी रहेको बताए।
उनका अनुसार अन्तरव्यवस्थापिका संघको सभामा सामाजिक विकास, न्यायमा संसदको पहल, समसामयिक विश्व राजनीति र सामाजिक असमानताका विषयमा गम्भीर छलफल भएको थियो। सभालाई सम्बोधन गर्दै उनले नेपालले भोगिरहेका समस्या र समावेशिताको अभ्यासबारे विश्वसमक्ष अनुभव प्रस्तुत गरेको जानकारी गराए।
सभामुख घिमिरेले भने, ‘समसामयिक विश्व राजनीति, यसले पारिरहेको प्रभाव र समाजमा भइरहेका असमानताका विषयमा प्रशस्त विचार–विमर्श भयो। नेपालको तर्फबाट म स्वयंले प्रतिनिधित्व गर्दै जेनेरल डिबेटमा मन्तव्य राखेँ। त्यसभित्र हामीले विधायिका क्षेत्रमा समानताको पक्षमा गरेका काम र सबै धर्म तथा जातजातिहरूलाई समेट्न सफल भएका प्रयासबारे अनुभव बाँडेँ।’
उनले सम्मेलनको निष्कर्षबारे पनि जानकारी गराए। सभामुखका अनुसार वार्षिक सभाले विशेष गरी मध्यपूर्व क्षेत्रमा भइरहेको युद्ध अन्त्य गर्न दुई राष्ट्रको अवधारणा स्वीकारेर इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वलाई शान्तिपूर्ण ढंगबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ।
भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलका सदस्य राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य एसिया–प्रशान्त क्षेत्रीय दिगो विकास समितिमा र प्रतिनिधिसभा सदस्य सोविता गौतम स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएका छन्।
सभामुख घिमिरेले जलवायु परिवर्तनका कारण देखिएको असरका बारेमा पनि सम्मेलनका सहभागीहरूलाई जानकारी गराइएको र सचेत गराइएको बताए।
प्रतिकृया दिनुहोस