तीनकुनेमा वितण्डा मच्चाएर भागेका दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं । राजा ल्याउन भन्दै तीनकुनेमा भएकाे कार्यक्रममा वितण्डा मच्चाउका दुर्गा प्रसाईं भारतबाट पक्राउ परेका छन् । चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके प्रसाईं भारतकाे असामबाट पक्राउ परेका हुन् ।
‘पक्राउ परेको नभनौं, उनी ट्रयाक भएका छन्, भारतीय अधिकारीसँग समन्वय गरी नेपाल ल्याउने प्रयास भइरहेको छ,’ ती प्रहरी अधिकारीले बताए।
उनकाे सचिवालय स्राेतले भने प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ ।
प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेर नेपाल ल्याउँदैछ । तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं रातारात भारत तर्फ भागेका थिए ।
त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको नेपालमै रहेकाे बताउँदै आएका थिए ।
सामाजिक सञ्जालमा उनको तर्फबाट सन्देशहरु आइरहँदा समेत प्रहरीले ट्र्याक गर्न नसकेको भनेर आलोचना पनि भएको थियो ।
प्रसाई भागेलगत्तै नेपाल प्रहरीको विशेष ब्युरोको टोली पछ्याउँदै पुगेको थियो। विशेष सूचनाका आधारमा ब्युरोको टोली भारतमा उनी रहेको स्थानको नजिक पुगिसकेको थियोर। प्रहरी पुगेको सुइँको पाएपछि त्यहाँबाट पनि भागेर उनी सामाजिक सञ्जाल समेत नचलाएर गुपचुप बसेका थिए।
तर, हिजो बुधबार मात्र उनले सामाजिक सञ्जालमा अर्को भिडिओ राखेर आफू भागेको नभई असुरक्षित रहेका कारण जोगिएको बताएका थिए
चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि २ जनाको ज्यान गएको थियो। व्यापक तोडफोड, आगजनी र लुटपाट गरिएको थियो।
काठमाडौँको तीनकुनेस्थित सटरबाट दलबलसहित भागेका दुर्गा प्रसाईं झापाको काकडभिट्टा नाका हुँदै भारत छिरेको सूचना प्रहरीले घटनाको केही दिनमै पाइसकेको थियो।
प्रहरीले तीनकुनेबाट उनलाई लिएर गएको गाडी प्रसाईंकै झापास्थित मेडिकल कलेज बीएन्डसीमा फेला पारेको थियो।
बागमती प्रदेशको बी-ए-बी ४२०८ नम्बरको स्कोर्पियो अहिले अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा टेकुमा राखिएको छ।
काठमाडौँको तीनकुनेस्थित सभास्थलबाट समर्थकलाई उग्र बन्न उक्साएर प्रसाईं एउटा घरको सटरभित्र लुकेका थिए। त्यतिबेला तीनकुने क्षेत्र तनावग्रस्त बनेको थियो। प्रहरीले अश्रुग्याँस र हवाइ फायर गरिरहेको थियो।
उनको कमान्डमा उत्रिएका समर्थकले तीनकुनेका निजी घरमा ढुंगामुढा गरिरहेका थिए। स्थिति तनावग्रस्त बन्दै गएपछि प्रसाईं भने निजी सुरक्षाकर्मी र समर्थकको आडमा लुकेर धर्मगुरु पुष्कर खतिवडासँगै गाडीमा चढेर भागेका थिए।
सोही गाडीमा उनीसहित ६ जना काठमाडौँबाट बीपी राजमार्ग हुँदै काकडभिट्टा नाकासम्म पुगेको सूचना प्रहरीले पाएको थियो।
बीएन्डसीमा फेला परेको गाडी र त्यसका चालकलाई प्रहरीले गत साता नै नियन्त्रणमा लिएर काठमाडौँ ल्याइसकेको छ। तर प्रसाईं भने आफ्ना केही सहयोगीसहित भारतमै रहेका थिए।
काठमाडौँबाट काकडभिट्टासम्म जाँदा प्रसाईं चालकभन्दा पछाडिको सिटमा बसेर गएका थिए। काकडभिट्टाबाट आफ्नो गाडी बीएन्डसीमा फर्काएर उनी अर्को गाडीमा भारत गएको पुष्टि भएको छ।
प्रतिकृया दिनुहोस