गभर्नर नियुक्तिमा बिचौलियाबीच तानातान: प्रचण्ड

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई सुझाव दिएका छन् ।
स्वार्थ समूहको बिगबिगी भइरहेको बताउँदै उनले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखापरेका गम्भी समस्याको समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिएका हुन् । रुपन्देहीमा बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गभर्न नियुक्तिको विषयमा दलहरुबीच नभइ बिचौलियाबीच कुरा नमिलेको टिप्पणी गरे ।
‘अहिले गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ । तपाईहरुलाई लाग्छ होला पार्टीहरुको बीचमा भागबण्डा मिलेको छैन । तर, कुरा नमिलेको बिचौलियाको बीचमा हो’, उनले भने, ‘यो समूहको हुने कि त्यो समूहको हुने भन्ने टुंगिएको छैन । उनीहरुले कहिले कांग्रेसलाई कहिले एमालेलाई पक्डेका छन् । त्यसैले ढिलो भइराखेको छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकार पनि बिचौलियाको स्वार्थ अनुसार नै काम गरिरहेको बताउँदै राम्रो काम गर्ने इमानदार कर्मचारीहरुलाई प्रताडित गर्ने, अपमानित गर्ने र निकाल्ने र नराम्रोलाई भर्ती गर्ने काम भइरहेको बताए। उनले यसरी अर्थतन्त्रलाई नियमन, नियमित गर्ने, सन्तुलित बनाउने महत्वपूर्ण संवेशदनशील पदका विषयमा हुने बिचौलियाको चलखेल बन्द गर्न आग्रह गरे । पार्टी र समाजवादी मोर्चाकै तर्फबाट पनि पटक पटक सरकारलाई खबरदारी गरिरहेको बताउँदै उनले सरकारले भने त्यतातिर ध्यान नदिएको बताए ।
उनले कांग्रेस महामन्त्रीले नै प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच रहेको कुरा भनिसकेको बताउँदै सरकार बिचौलियाले चलाउने कुरा पुष्टि भएको बताए । ‘पहिले त माओवादी र प्रचण्डले भनेको पुर्वाग्रह हो कि भन्ने लाग्थ्यो होला। अहिले त यो कुरा कांग्रेसका महामन्त्रीहरुले नै भन्न थाल्नुभयो ‘, उनले भने, ‘अब त छ्याङ्ग भयो नि ! प्रचण्डले लगाएको यो झुटो होइन रैछ, साँचो रैछ भन्ने ।’
प्रतिकृया दिनुहोस