• २०८२ बैशाख ९ सोमबार
  • Monday, 21 April, 2025

राजा फार्काउन सडकमा आन्दोलन उठ्ने नदेखिएपछि गिरफ्तारी दिने रणनीतिमा राप्रपा

काठमाडौं । राजतन्त्र फर्काउनका लागि राजावादी आन्दोलनमा नागरिकहरुको उपस्थिति हरेक दिन कमजोर हुँदै गएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरु नै सडकमा उत्रिने भनिएको सोमबारको प्रदर्शनमा नै केही सय मात्रै मानिसहरु सहभागि भएको सुरक्षा संयन्त्रको भनाई छ । 

विभिन्न प्रलोभन देखाएर मानिसहरु सडकमा उतार्ने गरेका राजावादी अभियान्ता दुर्गा प्रसाईं पक्राउ परेपछि उनीहरुको आन्दोलन थप कमजोर भएको हो । 

सडकमा कमजोर उपस्थिति देखिएपछि हालसालै ज्ञानेन्द्र शाहलाई समेत भेटर लन्च खाएका राप्रपा नेताहरुले सरकारलाई दबाब दिन फरक रणनीति अपनाएका छन् ।

उनीहरुले सिंहदरबार भित्रै प्रदर्शन गरेर प्रहरीलाई गिरफ्तारी दिलाएका छन् । उनीहरुले पक्राउ दिदै गर्दा केहीसयको संख्यामा कार्यकर्ताहरु निषधित क्षेत्र तोड्ने भन्दै बानेश्वरमा प्रदर्शन गर्दै थिए । 

प्रहरीले पक्राउ गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू सबै थुनिन तयार रहेको बताएका छन्। दलको कार्यालयबाट निस्किँदै सरकारविरुद्ध विरोध प्रदर्शन गर्न थालेपछि लिङ्देनसहितका सांसदहरूलाई प्रहरीले गिरफतार गरी गाडीमा हालेको थियो । उनले भने, ‘निरंकुश सरकारले गर्ने काम यही हो । यसमा अचम्म मानेका छैनौं । हामी सबै थुनिन तयार छौं ।’

प्रहरीले लिङदेनसहितका राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायतलाई प्रक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेपछि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचारी केपी ओली सरकार मुर्दावाद’ भन्दै नारा लगाएका थिए। अध्यक्ष लिङ्देनले सरकारले अधिकार खुम्च्याउँदै गएकाले निषेधित क्षेत्रमा प्रदर्शन गर्नुपरेको बताएका छन्।

‘सरकारले बोल्न पाउने, लेख्न पाउने, प्रदर्शन गर्न पाउने, स्वभाविक अधिकारलाई खुम्च्याउँदै लगेको छ। जनताबाट सरकार झन् झन् टाढा हुँदै जाने अवस्था सिर्जना गरेको छ,’ उनले भने, ‘त्यसैले सरकारको नजिकै गएर प्रदर्शन गरौं भनेर हामीले प्रतिकात्मक रूपमा कार्यक्रमको आयोजना गरेका छौं ।’ 

राप्रपाले अध्यक्ष लिङ्देनसहित पक्राउ परेका नेताहरूको रिहाइको माग गरेको छ । आइतबार (आज) निषेधित क्षेत्र तोड्ने प्रदर्शनका क्रममा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, नेता ज्ञानेन्द्र शाहीलगायतका नेताहरू पक्राउ परेका छन् । राप्रपाले उनीहरूको अविलम्ब रिहाइको माग गरेको हो । ‘शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गर्नु भएका राप्रपाका अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गरियोस्,’ राप्रपाले भनेको छ ।

अध्यक्ष लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखिएको छ । आज केही बेरअघि सिंहदरवार क्षेत्रमा विरोध प्रदर्शनका क्रममा अध्यक्ष लिङ्देनसहितका नेताहरुलाइ प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार उनीहरूलाई हाल भद्रकालीस्थित परिसरमा राखिएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर