• २०८२ बैशाख ८ सोमबार
  • Monday, 21 April, 2025

कर्मचारीहरूले दोहोरो सुविधा लिन नपाउने कानुन बन्दै

काठमाडौं । निजामती सेवामा रहेका कर्मचारीहरूले दोहोरो सुविधा लिन नपाउने गरी कानुन बन्ने भएकाे छ ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उपसमितिले बुझाएको संघीय निजामती विधेयकको प्रतिवेदनमाथिको छलफलका क्रममा दोहोरो सुविधा लिन नपाउने गरी व्यवस्था गरिने लागेकाे सभापति रामहरि खतिवडाले जानकारी दिए । 

निवृत्तिभरण, अन्य भत्ता वा राजनीतिक नियुक्ति पाएको पदको तलबमध्ये एक मात्र लिन पाउने र दोहोरो सुविधा लिइएको पाइए सरकारी बाँकी सरह असुलउपर गरिने व्यवस्था गरिने उनले बताए । त्यस्तै निवृत्तिभरण पाएको व्यक्ति भ्रष्टाचार, सरकारी किर्ते, राज्यविरुद्धको अपराध लगायतमा संलग्न देखिए निवृत्तिभरण दिने पक्षमा समिति नरहेको सभापति खतिवडाले उल्लेख गरे ।

त्यसअघि बैठकमा एमाले सांसद रघुजी पन्तले भ्रष्टाचारमा मुछिएकाहरूलाई पनि निवृत्तिभरण दिनुपर्नेमा उपसमितिमा कुनै सहमति नभएको उल्लेख गरे । उनले कसैलाई अन्याय नपर्ने गरी निजामती कर्मचारीलाई सेवा दिनुपर्नेमा मात्रै जोड दिएको उल्लेख गरे ।  

पन्तले उपसमितिको प्रतिवेदन पारित नै नभएको अवस्थामा समितिले अन्तिम रूप दिएपछि मात्रै सार्वजनिक गर्नुपर्नेमा जोड दिए । उनले पत्रकारहरूलाई समिति बैठक खुल्ला राख्दा गलत सूचना प्रवाह हुने देखिएकाले अव बिचार गर्नुपर्ने अवस्था आएको धारणा राखे ।  

कांग्रेस सांसद दीलेन्द्रप्रसाद बडूले दोहोरो सुविधा लिन नपाउने कुरालाई कानुनमा स्पष्ट गर्नुपर्ने भएकाले उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिए । छलफलका लागि उपसमितिको प्रतिवेदनमा समावेश गरेको विषयलाई अपव्याख्या गरेर सांसदहरूमाथि प्रश्न उठाउनु उचित नभएको उनले बताए ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले कर्मचारीलाई निवृत्तिभरण नदिने नभइ दोहोरो सुविधा भने रोक्नुपर्नेमा जोड दिएको स्पष्ट पारे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर