जम्मु–काश्मिर हमलाबारे पाकिस्तानले दियो यस्तो धारणा

काठमाडाै । पाकिस्तानले जम्मू-कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणमा आफ्नो देशको कुनै संलग्ननता नभएको जनाएको छ । पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले पहलगाम हत्याकाण्डमा आफ्नो देशको कुनै भूमिका नभएको बताएका हुन् ।
स्थानीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आसिफले उक्त घटनामा पाकिस्तानको कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका छन् । पलगाम घटना भारत सरकारविरुद्धको घरेलु विद्रोह भएको उनको भनाइ छ । ‘भारतभित्र धेरै विद्रोही छन् । नागाल्याण्डदेखि काश्मिरसम्म, छत्तिसगढदेखि मणिपुर र दक्षिणतिर भारतकै विद्रोही र आतंकवादी संगठन छन्,’ उनले भनेका छन्, ‘यो अपराधपूर्ण घटना बाह्य घुसपैठ नभएर उनीहरुकै घरेलु उत्पादनका उपज हुन् ।’
भारतीयहरूले पछिल्लो समय अधिकारका लागि आवाज उठाइरहेका उनको भनाइ छ । ‘हिन्दूवादी समूहहरूले मुस्लिम, क्रिश्चियन, बौद्धलगायत अल्पसंख्यकमाथि दमन र उत्पीडन बढाइरहेका छन् । यस्ता घटना त्यसैको यसको उपज हुन्,’ उनले भने ।
आसिफले आक्रमणका लागि पाकिस्तानलाई दोष दिन ‘सजिलो’ भएको र भारतले पाकिस्तानको मामिलामा हस्तक्षेप गरेको आरोप लगाएका छन् । आसिफले घटनाको निन्दा गर्दै यस्ता रक्तपातपूर्ण आतंवादी हर्कतको पाकिस्तानले सधैं घृणा गर्ने बताएका छन् ।
भारत र पाकिस्तान दुवैले दाबी गरेको कश्मीरमा भारतीय शासनविरुद्ध दशकौंदेखि विद्रोह भइरहेको छ । भारतले उक्त विद्रोहलाई पाकिस्तानले आर्थिक सहयोग र समर्थन गर्ने गरेको आरोप लगाउँदै आएको छ । तर उक्त आरोप पाकिस्तानले अस्वीकार गर्छ ।
प्रतिकृया दिनुहोस