• २०८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025

विद्युत प्राधिकरणमा देखिन थाल्यो व्यवस्थापनमा कमजोरीः ‘बिजुली बढ्न वर्षा पर्खनुपर्छ’

काठमाडौं । कुलमान घिसिङलाई सरकारले हटाएपछि नेपालको विद्युतीकरणमा समस्या देखिन थालेको छ । प्राधिकरणको नयाँ नेतृत्वले कलात्मक रुपमा व्यवस्थापन गर्न नसक्दा विद्युत कटौलीको समस्या देखिन थालेको छ । प्राधिकरणले यस्तो समस्या हट्नका लागि अब वर्षामा पानीको वहाव बढ्ने त्यसपछि हट्ने प्रतिक्रिया दिन थालेको छ । 

भारतमै माग उच्च हुँदा नेपालले चाहे जति बिजुली किन्न नपाउँदा औद्योगिक क्षेत्रमा बिजुली कटौती गरिएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । विद्युत् व्यवस्थापनमा कठिनाइ भएकाले औद्योगिक क्षेत्रमा केही समय आंशिक लोड दिइने प्राधिकरणले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विद्युत् विनिमय समिति (पावर एक्स्चेन्ज कमिटी–पीईसी) मार्फत भारतबाट ५० मेगावाट मात्र बिजुली आयात भइरहेको प्राधिकरणले जनाएको छ । अहिले आन्तरिक उत्पादन औसत १ हजार १ सय ७५ मेगावाट रहेको प्राधिकरणको भनाइ छ ।

बिजुलीको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट पुगे पनि उक्त समयमा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको प्राधिकरणले जनाएको छ । सुक्खायाममा अपुग बिजुली बर्सेनि भारतबाट आयात गरेर पुर्‍याउने गरिएको छ । गर्मीयाम सुरु भएसँगै भारतमा अत्यधिक बढेको विद्युत् मागका कारण नेपालले चाहे जति विद्युत् किन्न नपाएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पीईसीमार्फत बेलुका ६ देखि बिहान ६ बजेसम्म अधिकतम ३५० मेगावाट बिजुली आयात गर्ने अनुमति पाएको छ । तर १३२ केभी सम्पतिया–मनैया प्रसारणलाइनबाट बिहान २ देखि ६ र बेलुका ६ देखि ७ बजेसम्म ५० मेगावाट मात्र विद्युत् आपुर्ति भइरहेको प्राधिकरणले जनाएको छ ।

‘भारतमा आईपीएल जारी रहँदा माग बढेकाले इन्डियन एक्सचेन्ज मार्केट (आइएक्स) को दररेट पीईसीको दररेटभन्दा बढी भएकाले बिहारसँग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दा समेत विद्युत् प्राप्त हुन सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ । भारतको प्रतिस्पर्धी बजार (आईएक्स) बाट बिहान ६ देखि बेलुका ५ बजेसम्म र राति ११ देखि बिहान ४ बजेसम्म विद्युत् खरिद गर्ने अनुमति छ ।

‘राति ११ देखि बिहान ४ बजेसम्म तोकिएको अधिकतम मूल्यमा बोलकबोल गरी खरिद गर्न खोज्दासमेत नेपाललाई ‘प्रो राटा’ आधारमा सप्लाई दिइने गरिएकाले मागको तुलनामा अत्यन्तै कम मात्र विद्युत् प्राप्त हुन सकेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणले बोलकबोल गरेको प्रतियुनिट बिजुलीको मूल्यभन्दा प्रतिस्पर्धी बजारमा मूल्य बढी हुँदा खरिद गर्न सकेको छैन । प्राधिकरण स्रोतका अनुसार प्रतियुनिट बिजुलीको मूल्य १० रुपैयाँभन्दा बढी मूल्यमा बोलकबोल गर्न मिल्दैन । प्रतिस्पर्धी बजारमा प्रतियुनिट बिजुलीको मूल्य १० रुपैयाँभन्दा बढी भएकाले खरिद गर्न सकेको छैन ।

मागको तुलनामा अत्यन्तै कम मात्रामा विद्युत् आयात हुँदा विद्युत् व्यवस्थापनमा कठिनाइ भएको प्राधिकरणले जनाएको छ । ‘विद्युत् व्यवस्थापनमा कठिनाइ देखिएको र औद्योगिक क्षेत्रमा केही समय आशिंक लोड दिइने गरेको भए तापनि माग र आपुर्तिको व्यवस्थापनमा अधिकतम प्रयास गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

नेपालका नदीनालामा बहाव छिट्टै बढ्ने र भारतबाट पनि विद्युत् आपुर्ति बढ्ने अवस्था रहेकाले हाल देखिएको समस्या शीघ्र समाधान हुने समेत प्राधिकरणले बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर