• २०८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025

प्रधानमन्त्रीसँग माफी नमागेकाले राज्यमन्त्री बर्खास्त !

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट ऊर्जा राज्यमन्त्री बनेका कान्छाबहादुर तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन् । कांग्रस सभापति शेरबहादुर देउवा विदेशमा रहेका बेला प्रधानमन्त्रीले कांग्रेसका मन्त्री बर्खास्त गरे ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हालै हटाइएका कुलमान घिसिङको पक्षमा वकालत गरेको र ऊर्जा सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधिएको विषयमा तामाङसँग प्रधानमन्त्री ओली असन्तुष्ट थिए ।

घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउन सरकारले प्रक्रिया अघि बढाइरहँदा तामाङले फरक मत राख्दै आएका थिए । घिसिङकै विषयलाई लिएर ऊर्जामन्त्री दीपक खड्कासँग तामाङको तिक्तता बढेको थियो । खड्काले राज्यमन्त्रीलाई हटाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग पटकपटक आग्रहसमेत गर्दै आएका थिए ।

गत २८ चैतमा तामाङले आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भनी मन्त्रालयका सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए । राज्यमन्त्री प्रमुख अतिथि रहेको जलस्रोत तथा सिँचाइ विभागको कार्यक्रममा उद्घोषकले आसनग्रहण गर्न बोलाउँदा सचिव आचार्य मञ्चमा नगई कार्यक्रम स्थलबाट बाहिरिएका थिए । ऊर्जा राज्यमन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ सचिव आचार्यले बुझाएका छैनन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न बोलाएको बैठकमा समेत तामाङले मत बझाएका थिए । प्रधानमन्त्रीले ३ करोडभन्दा कम रकमका आयोजनामा बजेट विनियोजन गर्न नपाइने उल्लेख गरेपछि तामाङले आफ्नो गृहजिल्ला रामेछापमा २० लाख रुपैयाँसम्मका आयोजना पनि आवश्यक रहेको बताएका थिए ।

ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्रीसँग भेटेर माफी माग्न तामाङलाई आग्रह गरिएको थियो । तर उनले आफ्नो गल्ती नभएको जनाउँदै माफी नमाग्ने जवाफ फर्काएका थिए । बर्खास्तको निर्णय लिनुअघि प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखकमार्फत राजीनामा समेत मागेको तामाङले बताए ।

बर्खास्तपछि उनले भने, ‘एक घण्टाअघि (बुधबार साँझ ५ बजे) गृहमन्त्रीज्यूले फोन गरेर राजीनामा माग्नुभयो । मलाई पार्टीले पठाएको हो, पार्टीले फिर्ता बोलाउनुपर्छ, राजीनामा दिन्नँ भनेको थिएँ । त्यसपछि बर्खास्त गरियो ।’ आफूलाई पदमुक्त गरिएको विषयमा पार्टीभित्र छलफल हुने र पार्टीले निर्णय लिने उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर