• २०८२ बैशाख १५ सोमबार
  • Monday, 28 April, 2025

एमालेका प्रधानमन्त्री र कांग्रेसका गृहमन्त्रीलाई डा कोईरालाले भनेः कुशासनको उदाहरण

काठमाडौं । कांग्रेस नेता तथा सांसद शेखर कोइरालाले आन्दोलनरत शिक्षकमाथि बलप्रयोग हुनु सरकारको कुशासनको अर्को उदाहरण भएको बताएका छन् । उनले विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत शिक्षकलाई सडकमै प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण रहेको जनाएका छन् । 

कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरु सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो । पठनपाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ । यस्तो अवस्थामा शिक्षकहरुसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरुमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरुलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो ।’

उनले १/२ दिनमै शिक्षक आन्दोलनलाई समाधान गरेर पठनपाठनको वातारण बनाउन पनि सरकारलाई आग्रह गरेका छन् । ‘अब धेरै ढिला भयो । एक दुई दिन मै समस्या समाधान गरी पठन–पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले लेखेका छन् ।

आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वर क्षेत्रमा झडप भएको थियो । झडपमा ५० जना शिक्षक घाइते भएको महासंघले जनाएको छ । शिक्षकले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा र लाठीचार्ज गरेको थियो । २५ दिनदेखि शिक्षक आन्दोलन जारी हुँदा कतिपय स्थानीय तहले शिक्षकलाई विद्यालय फर्कन वा अयन्त्र सरुवा भएर जान सर्कुलर गरेका छन् । पालिकाको सर्कुलरलाई शिक्षक महासंघले धम्कीपूर्ण आदेश भन्दै अस्वीकार गर्न अपिल गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर