• २०८२ बैशाख १९ शुक्रबार
  • Friday, 2 May, 2025

नेताका घरमा 'भैली खेल्दै' चाैथाइवालेः २ दिनमा ३ पूर्वप्रधानमन्त्रीसहित दर्जन नेता भेट

काठमाडाैं । बेला बेला नेपाली राजनीतिमा चर्चा हुने गर्दछ कि नेपालमा भारतीय नेताहरूले जति सजिलै भेटघाछ पाउँदछन्, भारतमा नेपाली नेताले पाउँछन् त ? अहँ, सम्भावनै छैन । 
तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चाैथाइवालेले त्याे कुरालाइ एक पटक फेरि पुष्टि गरिदिएका छन् । 

तीन दिने नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले बुधबार र बिहीबारका दुई दिनमै सत्तासिन र विपक्षी दलका गरेर तीन पूर्वप्रधानमन्त्रीसहित ११ जना नेतालाई भेटेका छन् ।

बुधबार गृहमन्त्री रमेश लेखकलाई भेटेर सुरु भएको दौडधुप बिहीबार साँझसम्मै जारी छ । बुधबार चौथाइवालेले लेखकका अलावा कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवा र राति अबेर गरी कांग्रेस नेता शेखर कोइरालासँग डिनर भेटवार्ता गरेका थिए ।

चौथाइवालेको भेटघाटको श्रृंखला बिहीबार बिहानैबाट सुरु भयो । बिहीबार उनले माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटे । साथै कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस नेता प्रकाशशरण महत र उदयशमशेर राणालाई बेग्लाबेग्लै भेटे ।  

चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीका अलावा सत्ता गठबन्धनका अन्य प्रमुख नेताहरू, प्रतिपक्षी दलका नेताहरू र मधेसी मोर्चाका नेताहरूसँग भेट्ने कार्यक्रम छ ।

चौथाइवालेले आतंकवादको विरोधमा नेपालका नेताहरूको समर्थन कायम राख्ने प्रयास गरेका छन् ।

भारतले पाकिस्तानमाथि विभिन्न कडा कूटनीतिक कदमहरू चालिसकेको छ । त्यसले दुई देशबीच तनाव बढाएको छ । भारत र पाकिस्तानबीच तनाव बढ्दै गर्दा चौथाइवालेले नेपाल र यहाँका नेताहरूको साथ आतंकवादको विरोधमा भारतको पक्षमा कायम रहोस् भन्ने सन्देश दिन खोजेकाे कतिपयले अनुमान लगाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर