कांग्रेस र एमाले झडप: कांग्रेसकी जिसस अछाम उपप्रमुख शाही पक्राउ

धनगढी । जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती शाहीलगायत तीन जना महिला पक्राउ परेका छन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् । उनीहरुविरुद्ध अपमानजनक व्यवहार गरेको भन्दै मुद्दा दायर भएको हो ।
२०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपले उग्ररुप लिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए । पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि झडप भएको थियो । सोही क्रममा पञ्चदेवल विनायक —४ का १३ वर्षीय विनोद शाही बेपत्ता भएका थिए ।
०७९ जेठ २१ मा घर नजिकैको जंगलमा शाही मृत भेटिएका थिए । कांग्रेस कार्यकर्ताले शाहीको हत्या गरेको एमाले कार्यकर्ताको आरोप छ । उक्त घटना कांग्रेस र एमाले जोडिएर राजनीतिकरण भएपछि अहिलेसम्म पनि त्यसको असर परिरहेको छ । विनोद शाही मृत्यु प्रकरणको मुद्दा अदालतमा विचाराधिन अवस्थामा भए तापनि घटनाले राजनीतिक रुप लिएपछि पटक-पटक विवाद हुँदै आएको छ ।
सोही क्रममा पञ्चदेवल विनायक—४ बाट निर्वाचित जिल्ला समन्वय समिति उपप्रमुख शाही पनि मुछिएकी थिइन् । उनी पुर्पक्षका लागि थुनामा बसेर धरौटीमा रिहा भएकी थिइन् । सोही मुद्दाको बयान दिन शाहीसहित द्रोपति शाही र शान्ति शाही पनि अदालतमा उपस्थित थिइन् । दुवै पक्ष फागुन १८ मा मुद्दाको विषयलाई लिएर अदालत गएका थिए । दुवै पक्षले एकअर्कालाई देखेपछि अदालत परिसरमा हानाहान गरे । जसमा उपप्रमुख शाही पक्षकी द्रोपति शाहीको अर्को पक्षको कुटपिटबाट ४ वटा टाँका लागेका थिए । अर्का साक्षी दिनेश नेपालीमाथि गालीगलौज गरेपछि उनीहरुले अर्को पक्षका विरुद्धमा जातीय छुवाछूत गरेको मुद्दा समेत दर्ता गरेका थिए । सोही क्रममा बखत शाही, गणेश शाही, रमेश शाही, देवेन्द्र शाही र ललितबहादुर शाहीको नाममा अमानवीय तथा अपमानजनक व्यवहारमा मुदा दायर भएको थियो । सोही मुद्दाको जाहेरी आधारमा रमेश शाही, देवेन्द्र शाही र ललितबहादुर शाही हिरासतमा बसेर जनही १ लाख २५ हजार धरौटीमा छुटेका थिए ।
बखत शाही र गणेश शाहीका नाममा पक्राउ पुर्जी जारी भएपछि उनीहरु फरार भएका थिए । अन्तिममा अदालतमा हाजिर भएका बखत शाही २ लाख २५ हजार र गणेश शाही १ लाख २५ हजार धरौटीमा छुटेका थिए । धरौटीबाट छुटेका उनीहरुले नै उपप्रमुख शाहीविरुद्धमा सोही दिनको घटनालाई लिएर अमानवीय तथा अपमानजनक व्यवहारमा मुद्दा सरकारी वकिल कार्यालयमार्फत दर्ता गरेका थिए । एकै दिनको एकै प्रकृतिको मुद्दा प्रहरीले दर्ता गर्न नमानेपछि उनीहरुले सरकारी वकिल कार्यालयबाट मुद्दा प्रक्रिया अगाडि बढाएका थिए । अदालतबाट पक्राउ पुर्जी लिएर वैशाख १७ गते उपप्रमुख शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिकृया दिनुहोस