• २०८२ बैशाख २२ सोमबार
  • Monday, 5 May, 2025

सत्ता गठबन्धनबारे डा. शेखरले सरकारलाई सोधे ९ प्रश्न

काठमाडौं । सरकारमा सहभागि एक प्रमुख दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै पार्टी सहभागि वर्तमान सरकारमाथि सार्वजनिक रुपमा औंला ठड्याएका छन् । विकास र राजनीतिक स्थिरताका लागि बनेर बनाएको सरकार लक्षप्रति सफल हुन नसकेको ठोकुवा गरेका उनले अब फेरि जनतामा के भनेर जाने  ? भन्दै प्रश्न गरे । 

कान्तिपुर राष्ट्रिय दैनिकमा आज आफ्ना विचार व्यक्त गर्दै डा. कोइरालाले विभिन्न ९ प्रश्न सोधेका छन् । 
१. काम गर्न केले रोक्यो ? खर्च किन हुँदैन ? आयोजनाहरू समयमा किन सम्पन्न हुँदैनन् ? सबै मिलेर यी प्रश्नको जवाफ खोजौं । तेरो मेरो नभनी कामको जिम्मा दिउँ, पुरस्कार र दण्डको व्यवस्था गरौं । तिम्राले सहकारी ठगे ठग, मेराले ठगे चोखो ? यो कुशासनको पराकाष्ठा हो । ठग्ने जोसुकै ठग हुन्छ, तेरो मेरो हुन्न र हुनुहुँदैन । सबैमा उही कानुन लाग्नुपर्छ ।

२. विश्वविद्यालय, नेपाल राष्ट्र्र बैंकजस्ता स्वायत्त संस्थामा राजनीति नगर्ने बानी बसालौं । विद्यार्थीहरूको भविष्यसँग कतिन्जेल खेलबाड गर्ने ? कार्यकर्तालाई नेपाल राष्ट्र्र बैंकको गभर्नर बनाउँदासम्म त ठिकै थियो तर गभर्नरलाई पार्टीको कार्यर्कर्ता बनाउँदा के भयो हाम्रो अगाडि छर्लङ्ग नै छ । अब यसो नगरौं । नियुक्त पदाधिकारीलाई कानुनअनुरूप काम गर्न दिउँ ।

३. बजेट सानो बनाउँ, खर्च गरौं । अनावश्यक खर्च कटौती गरौं ।

४. संविधान संशोधनको एजेन्डामा सहमति गरेको गठबन्धन किन त्यो क्षेत्रमा प्रवेश गर्न डराएको ? यदि हामीले यो विषयमा अहिले प्रवेश गरेनौं भने भोलिका दिन कठिन हुन्छ र हाम्रा विगतका उपलब्धिहरूमा सम्झौता गर्नुपर्ने हुन्छ, आजै सचेत बनौं । विगतका उपलब्धिलाई जोगाएर अगाडि बढौं । यही संविधानबाटै सबै समस्याको समाधान खोजौं ।

५. संसद् जनप्रतिनिधिले जनताका समस्या उठाउने थलो हो । हामीले त्यो संस्थालाई व्यक्तिगत गालीगलौजको थलोका रूपमा विकास गर्न पुग्यौं । यो गलत हो । सोचौं । संसद्को मर्यादा र गरिमा कायम गरौं ।

६. प्रदेशलाई संविधानले दिएको अधिकार पूरै दिउँ । अहिले प्रदेशप्रतिको जनआक्रोशको कारण प्रदेश आफैं नभई केन्द्रको रवैया हो । प्रदेश संघको शाखा हैन, संविधानअनुसार बनेको छुट्टै सरकार हो, सबैले बुझौं ।

७. उद्यमी व्यापारीका कुरा सुनौं । कुनै एक घराना वा व्यवसायीलाई फाइदा हुने गरी कानुन वा कार्यविधि संशोधन गर्दा अरू धेरै मर्कामा परेका छन् । आयात प्रतिस्थापन गर्ने उद्यमलाई दिनुपर्ने सहुलियत दिन

सकेका छैनौं । अहिलेको समयमा कर्जा भुक्तानीमा सहजता जरुरी छ, समस्या फुकाउँ, नत्र बैंक र ग्राहक दुवै मर्कामा पर्छन् ।

८. हाम्रा हिमाल र सम्पदालाई विश्वका विभिन्न संस्थाले पर्यटकले घुम्नैपर्ने सूचीमा राखेका छन् । निजी क्षेत्रबाट पर्यटकीय पूर्वाधारमा अर्बौं रुपैयाँ लगानी भएको छ । यस्तोमा बन्द/हडताल नगरौं । नकारात्मक सूचना प्रवाह हुने काम नगरौं । कुनै समस्या भए एक दुई दिनमै वार्ताबाट समाधान गरौं । पशुपतिनाथ, लुम्बिनी, जनकपुर, हलेसी, मुक्तिनाथ मात्र नभई देशभित्र सयौं धार्मिक पर्यटकीय क्षेत्र छन्, जसको प्रचारप्रसार मात्रैले पनि बर्सेनि लाखौंको संख्यामा स्वदेशी र विदेशीले ती क्षेत्रको भ्रमण गर्न सक्छन् । ती स्थानसम्म पुग्ने बाटो मात्र सरकारले बनाइदिए अरू काम त निजी क्षेत्रले गर्छ ।

९. जलविद्युत् हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन सक्छ । एकातिर हाम्रो आफ्नै माग बढ्दो छ भने अर्कोतर्फ तीव्र आर्थिक विकासमा लागेको भारतलाई हामीले जति पनि विद्युत् बेच्न सक्छौं । ऊर्जा उत्पादन र वितरणमा राजनीति नगरौं । जसले गरेको भए पनि झोलामा खोला राख्नेलाई निरुत्साहित गरौं र हरेक वर्ष कम्तीमा एक हजार मेगावाट बिजुली उत्पादन क्षमता बढाउँ ।

डा. कोईराला वर्तमान सत्ता गठबन्धनप्रति असन्तुष्ट छन् । उनले आफ्नो सभापति शेरबहादुर देउवालाई पटक पटक भेटेर एमालेसँगको सत्ता सहकार्य तोड्नुपर्ने विचार व्यक्त गर्दै आएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर