• २०८२ बैशाख २४ बुधबार
  • Wednesday, 7 May, 2025

ओली निकट महासेठ पक्ष र विरोधी पक्षबिच धनुषामा महाधिवेशनमा कुटाकुट

जनकपुरधाम । जिल्ला नेतृत्व चयन गर्ने निर्वाचन प्रक्रिया लम्ब्याउने र मतदाता सूचीमा नाम थपघट गरिएकोमा आक्रोशित एमाले धनुषाका नेता-कार्यकर्ताको प्रदर्शनले मंगलबार जनकपुरमा तनाव बढेको छ । जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मंगलबार बिहान ८ बजेदेखि निर्वाचन थाल्ने तयारी गरिएको थियो ।

सर्वसम्मतीबाट एमाले धनुषाको कार्यसमिति चयन हुन नसकेपछि मतदान गर्ने निर्धारण गरिएको थियो । विहान ठूलो संख्यामा मतदान गर्न पुगेका मतदातालाई तयारी नपुगेको भन्दै १० बजे मात्र मतदान सुरु हुने बताइएको थियो ।

यता, एमाले धनुषाको अध्यक्षमा उम्मेदवारी दिएका लक्ष्मीनारायण यादव पक्षले भने मतदाता नामावलीमा थपघट गरिएकोमा त्यसलाई सच्याउन माग गर्दै निधि भवनमा धर्ना बसेको थियो । एमाले धनुषा अधिवेशनमा नेता रघुवीर महासेठ पक्षले भोला यादवलाई अध्यक्ष अघि सारेको छ । लक्ष्मीनारायण भने नेता उमाशंकर अरगरिया पक्षका उम्मेदवार हुन् ।

यही दुई पक्षबीच अधिवेशनलाई लिएर विवाद बढेको छ । विवाद चर्किएपछि मंगलबार निर्वाचन समितिले प्रयोग गर्ने टेबल, कुर्सी, कम्प्यूटरलगायतका समान तोडफोड गरिएको छ । 

निधि भवनको मुख्य सभाकक्षमा पनि तोडफोड भएको र क्षतिको यकिन विवरण आइनसकेको केन्द्रका एक कर्मचारीले बताए । एमाले अधिवेशन भइरहेको निधि भवनमा अध्यक्ष पदका दुवै उम्मेदवार पक्षका नेता–कार्यकर्ताले लगातार उग्र प्रदर्शन गर्दै तोडफोडमा उत्रिएपछि त्यहाँको सुरक्षा व्यवस्था बढाइएको छ ।

अधिवेशनमा दुई पक्षबीच भएको तनाव बढेपछि झड्पसमेत भएको छ । झड्पमा ५ जना नेता–कार्यकर्ता घाइते भएको धनुषा प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमै प्राथमिक उपचार गरिएको छ । धनुषा प्रहरीका अनुसार घाइते हुनेमा एमालेका भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास छन् । दुवै जनाको टाउको फुटेको छ । धनुषाका निवर्तमान जिल्ला अध्यक्ष राजकिशोर यादवलाई समेत कुटपिट गरिएको छ ।

एमाले धनुषाको जिल्ला अधिवेशन शनिबार पार्टीका केन्द्रीय उपाध्यक्ष ईश्वर पोखरलेलले उद्घाटन गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर