मध्यरातमा भारतले थाल्यो पाकिस्तानका ९ स्थानमा आक्रमणः ९ जनाको मृत्यु

एजेन्सी । भारतले गएराति मध्यरातमा पाकिस्तानमाथि हवाइ हमला सुरू गरेकाे छ । भारतीय सेनाले बुधबार राति 'अपरेशन सिन्दूर' अन्तर्गत पाकिस्तान र पाकिस्तान अधिनस्थ जम्मू कश्मीरमा रहेका शिविरहरूमा एयर स्ट्राइक गरेको छ।
भारतीय सेनाको उक्त अपरेशन अन्तर्गत कुल ९ स्थानहरूलाई लक्षित गरिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ। यद्यपि, पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई भने लक्षित नगरिएको भारतीय सेनालाई उदृत गर्दै समाचारमा उल्लेख छ ।
२२ अप्रिलमा कश्मीरको पहलगाममा हमला भएको थियो। यसमा एक नेपालीसहित २६ पर्यटकको मृत्यु भएको थियो। आक्रमणकारीहरुले पर्यटकहरूलाई उनीहरूको धर्म सोधेपछि गोली हानेको बताइएको छ ।
पहलगाम आक्रमणको घटनाको भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले हाल अनुसन्धान गरिरहेको छ। एनआईएले यस विषयमा अप्रिल २७ मा जम्मूमा मुद्दा दर्ता गरेको थियो।
अप्रिल २३ मा भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानी नागरिकहरूको १४ श्रेणीको भिसा रद्द गरिएको बताएका थिए। सार्क भिसा धारकहरूलाई अप्रिल २६ सम्ममा भारत छोड्न भनिएको थियो भने मेडिकल भिसा धारकहरूलाई अप्रिल २९ सम्ममा भारत छोड्न आदेश दिइएको थियो। बाँकी १२ श्रेणीका भिसा धारकहरूलाई अप्रिल २७ सम्मको समय दिइएको थियो।
यसैबीच अर्को भारतीय सञ्चारमाध्यम एबीपी न्युजले भारतीय सेनाले पहलगाममा भएको हमलाको बदला लिएको समाचारमा उल्लेख गरेको छ ।
यसैबीच पाकिस्तानी सञ्चार सेवाका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले कोटली, बहावलपुर र मुजफ्फराबादमा "कायरतापूर्ण आक्रमण" गर्दै मध्यरातपछिको समयमा मिसाइल आक्रमण गरेको बताएका छन् ।
पाकिस्तानले भारतीय हवाइ आक्रमणबाट तीन स्थानहरू प्रभावित भएको बताएको छ । पाकिस्तानी सैन्य जनसम्पर्क शाखा, इन्टर-सर्भिस पब्लिक रिलेशन्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले पाकिस्तानी समाचार च्यानल जियो टिभीलाई यसबारे जानकारी दिएको बीबीसीले जनाएको छ ।
पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद, कोटली र बहवलपुर प्रभावित बनेको हो ।
समाचारअनुसार पाकिस्तान प्रशासित कश्मीरको मुझफ्फराबाद नजिकैको क्षेत्रमा जोडदार विस्फोटको आवाज सुनिएको छ। घटनाको अडियो समेत सार्वजनिक गरिएको छ, जसमा तीव्र आवाजका विस्फोटहरू स्पष्ट रूपमा सुन्न सकिन्छ।
समाचार संस्था रोयटर्सले पनि पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा शक्तिशाली विस्फोटहरू सुनिएको पुष्टि गरेको छ। एजेन्सीले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मुझफ्फराबादमा विद्युत आपूर्ति अवरुद्ध भएको जनाएको छ।
भारतीय सेनाले बुधबार राति 'अपरेशन सिन्दूर' अन्तर्गत पाकिस्तान र पाकिस्तान अधिनस्थ जम्मू कश्मीरमा रहेका 'आतंकवादी' शिविरहरूका ९ स्थानलाई लक्षित गरेर एयर स्ट्राइक गरेको जनाएको छ।
हमलामा अहिलेसम्म ९ पाकिस्तानीकाे ज्यान गएकाे कतिपय संचारमाध्यमले उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस