• २०८२ बैशाख २५ बिहीबार
  • Thursday, 8 May, 2025

नेपालको संसदमा पाकिस्तानमाथि भारतीय आक्रमणको चर्चाः कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा भारत–पाकिस्तान तनावको विषय उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै पूर्व परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता पूर्व मन्त्री सञ्जय गौतम, लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भारत– पाकिस्तानले तनावले नेपाललाई पार्न सक्ने प्रभावबारे चनाखो रहन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । 

पूर्व परराष्ट्रमन्त्री साउदले दुई देशबिचको तनावको विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए । साउदले छिमेकमा भएको घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण भएको उनले बताएका हुन् । ‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिबारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता थियो’, उनले भने ।

कांग्रेस सांसद गौतमले भारत–पाकिस्तान तनावले पार्ने प्रभावबारे समयमै गम्भीर बन्न सरकारलाई सुझाए । ‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बिचमा जुन युद्ध सुरु भएको छ यसले हामीलाई पार्ने अल्पकालीन र दीर्घकालीन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस्’ सांसद गौतमले भने ।

उनले सरकारलाई समयमै भारत–पाकिस्तान तनावले हाम्रो देशलाई पार्ने प्रभावमा छलफल अगाडि बढाउन आग्रह गरे । गौतमले राजनीतिक दलका शीर्ष नेताहरू पनि राष्ट्रिय विषयमा एकता हुन आवश्यक रहेको सुझाव दिए । 

सांसद शुक्लले नेपाल असंलग्न राष्ट्रको रूपमा रहँदै आएकोले आतङ्कवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता के हो खुलाउन आवश्यक रहेको बताए । 

स्वतन्त्र सांसद सिंहले पनि भारत– पाकिस्तान तनावको प्रभाव नेपाल–भारतको खुला सीमाका कारण पर्ने भन्दै त्यसबारे बेलैमा ध्यान पुर्‍याउन सरकारसँग माग गरे । 

भारत पाकिस्तान तनावबारे बोल्ने सांसदहरूले पहलगाममा भएको आतङ्कवादी आक्रमणको निन्दासमेत गरेका थिए । २२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव सृजना भइरहेको छ । पहलगाम आक्रमणमा पाकिस्तानको हात रहेको भन्दै भारतले जवाफी हमला सुरु गरे पछि तनाव उत्पन्न भएको छ । 

हिजो रातिबाट भारतले गरेको आक्रमणमा परेर पाकिस्तानका विभिन्न ठाउँमा ८ जनाको मृत्यु भएको छ भने ३५ बढी घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर