• २०८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025

भारत–पाकिस्तान तनावबारे नेताहरुको थरीथरी विचारः एउटै बनाउनु पर्छ– विश्वप्रकाश

काठमाडौं । छिमेकी देशहरु भारत र पाकिस्तानकाबीच बढ्दो तनावका विषयमा नेपालका राजनीतिक दलहरुबीच एकमत देखिएको छैन ।

दलहरुबीच मात्रै हैन एउटै दलका पनि फरक नेताका फरक धारणा सार्वजनिक भइरहेका छन् । नेपालले परराष्ट्र मामिला हेर्ने दृष्टिकोण एउटै हुनुपर्नेमा नेतैपिच्छेका धारणा सतहमा आईरहँदा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एकमत हुनुपर्नेमा जोड दिएका छन् ।

शर्माले भारत-पाकिस्तान युद्धबाट नेपालमा पर्न सक्ने असरबारे सरकार, सरकारमा रहेका दल, प्रमुख प्रतिपक्ष, अन्य विपक्षी दल, नेपाली मिडिया एक ढिक्का उभिन जरुरी रहेको बताएका छन् ।

उनले प्रधानमन्त्री र सबै दलका सभापति र अध्यक्षलाई ध्यानाकर्षण गराउँदै जारी भारत पाकिस्तान युद्धका असर नेपालमा कहाँ र कसरी पर्नसक्छ भन्नेबारे गम्भीर राष्ट्रिय विमर्श गर्नुपर्ने बताएका छन् ।

भारत-पाकिस्तान युद्धबारे ५ बुँदामा आफ्नो विचार सार्वजनिक गर्दै उनले भारत र पाकिस्तानमा अध्ययन, श्रम र व्यवसायमा रहेका नेपालीमाथि विकसित घटनाबाट के प्रभाव पर्छ भन्नेबारे सतर्क हुनुपर्ने भन्दै जोखिम क्षेत्रका लागि `सूचना र सम्पर्क नेटवर्क´ स्थापित गर्दै काठमाडौं, दिल्ली र इस्लामावादमा सरकारले `रेस्क्यु डेस्क´ निर्माण गर्नुपर्ने र जोखिम क्षेत्रबाट घर फर्कन चाहनेलाई आवश्यक सहजीकरण गर्नुपर्ने बताएका छन् ।

महामन्त्री शर्माले भारत-पाकिस्तान युद्धबारे प्रधानमन्त्रीले अविलम्ब सर्वदलीय छलफल बोलाएर साझा राष्ट्रिय अभिमत जारी गर्नुपर्ने देखि विपक्षी दलहरुसमेत विषयगत संवेदनशीलता र दृष्टिगत गरेर सरकारको साथमा उभिनुपर्ने बताएका छन् ।

उनले आतंकवाद नियन्त्रण र युद्धको चाँडो समाप्तिका लागि सार्क अध्यक्षका रुपमा नेपालले क्रियाशीलता देखाउनुपर्ने र भारत-पाकिस्तान युद्ध लम्बियो भने नेपालमा पर्नसक्ने बहुआयामिक असरबारे संघीय, प्रदेश र स्थानीय सरकारहरुले तयारी गर्नुपर्ने विचार अघि सारेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर