• २०८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025

सरकारको नीति तथा कार्यक्रममा एमाले कै सांसदको विरोध

काठमाडौं । सामान्यतया सरकारले संसदमा पारित गर्न ल्याउने कुनै पनि विलबारे सत्ता पक्षका सांसदहरु विपक्षमा उभिदैनन् । तर मन्तव्यका क्रममा भने कतिपय सांसदहरुले सरकारले ल्याएका नीति तथा कार्यक्रमहरुको विरोध गरिरहेका हुन्छन् । 
त्यसै मध्येका एक हुन् एमाले सांसद चन्द्रबहादुर विश्वकर्मा । उनले नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा रोस्ट्रममा मौन रहेर आलोचनात्मक समर्थन गरेका हुन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन पाँच मिनेटको समय पाएका विश्वकर्माले आफ्नो प्रतिक्रियास्वरुप मौनधारण गरेका हुन् ।

'राष्ट्रपतिले वैशाख १९ मा यस सदनमा नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सम्बोधन गर्नुभएको थियो । त्यो सम्बोधनपश्चात् यो गरिमामय संसद्मा आफ्ना क्रियाप्रतिक्रिया व्यापक रुपमा अगाडि बढिरहेको छ, छलफल भइरहेको छ,' उनले भने, 'मैले पनि त्यो प्रतिक्रिया दिनको लागि यहाँ उपस्थित भएको छु । त्यसैले प्रतिक्रिया दिन चाहन्छु ।' यत्ति भनेर सांसद विश्वकर्मा मौन रहेका थिए ।

सभामुखबाट पाएको पाँच मिनेटमध्ये सुरुको एक मिनेट बोलेका उनी बाँकी समय मौन रहे । आफूले पाएको समय सकिने बेला उनले धन्यवाद भनेर रोस्ट्रम छाडे ।

आफूले त्यसो गर्नुको कारण नीति तथा कार्यक्रमको आलोचना रहेको सांसद विश्वकर्माको भनाइ छ । नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासमा ध्यान दिइए पनि सामाजिक विकासलाई नजरअन्दाज गरिएको उनको तर्क छ । 'भौतिक पूर्वाधार विकासमा राज्यले प्राथमिकता दिएको छ । भौतिक विकास हुँदा सामाजिक विकासमा टेवा पुर्‍याउँछ तर मुख्य कुरा सामाजिक विकास हो । यो सामाजिक विकासको निम्ती कुरा उठाउँदै आएको थिए । नेताहरूले भाषण गरेका पनि हुन् । पार्टीका दस्ताबेजमा पनि छ,' उनले भने, 'तर, राज्यको नीति तथा कार्यक्रममा आउँदा ओझेल परे । भौतिक विकाससँगै समाजिक विकासमा ध्यान दिएको नीति तथा कार्यक्रम नपाएकाले मौन समर्थन गरेको हो ।'

नेपालमा व्यवस्था बदलिए पनि परम्परागत अभ्यासमा परिवर्तन गर्न आवश्यक रहेको सांसद विश्वकर्माको भनाइ थियो । नीति तथा कार्यक्रममाथि संसद्मा छलफल भइरहेको तर बजेट निर्माण कार्य भने सम्पन्न भइसकेकाले पनि मौन विरोध गर्नुपरेको उनको भनाइ छ । 'नीति तथा कार्यक्रम संसद्मा पेस भएर छलफल भइरहेको छ, अर्कोतिर बजेट निर्माण भइसकेको छ । नीति तथा कार्यक्रम पास भएपछि बल्ल बजेट पास हुनुपर्ने हो,' उनले भने ।

जातीय विभेद अन्त्य गर्ने नीति तथा कार्यक्रम नपाएकाले पनि आफू मौन रहनुपरेको सांसद विश्वकर्माको भनाइ छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर