• २०८२ जेठ १ बुधबार
  • Wednesday, 14 May, 2025

‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन

काठमाडौं । उरुग्वेका पूर्व राष्ट्रपति होसे मुहिकाको निधन भएको छ। पेपे नामले चर्चित उनी ८९ वर्षका थिए । पूर्व गुरिल्ला समेत रहेका मुहिका आफ्नो साधारण जीवन शैलीका कारण ‘विश्वकै सबैभन्दा गरिब राष्ट्रपति’का रूपमा समेत चिनिन्थे। उनी सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति बनेका थिए। उरुग्वेका राष्ट्रपति यामाण्डु ओरसीले मुहिकाको निधनबारे जानकारी दिँदै एक्समा लेखेका छन्, ‘तपाईले हामीले जे दिनुभयो, त्यसका लागि र नागरिकप्रति तपाईंको गहिरो मायाका लागि धन्यवाद ।’ मुहिकाको मृत्युको कारण नखुलाइए पनि उनी केही समयदेखि आन्द्राको क्यान्सरबाट ग्रसित थिए ।

५ वर्षे कार्यकालमा मुहिकाले राष्ट्रपति भवनमा नबसेर आफ्नै घरमा बसेर कार्यभार सम्हालेका थिए । उनी दुई कोठावाला घरमा बसे। उनी आफ्नो पारिश्रमिकको ९० प्रतिशत हिस्सा दान दिन्थे । पत्नीसँग मिलेर उनले फूलखेती समेत गरे। राष्ट्रपति हुँदा समेत कुवाबाट पानी भरेको र लुगा धोएका तस्बिरहरू सार्वजनिक भएका थिए। सादगीपूर्ण जीवन पक्षपाती र उपभोक्तावादको कट्टर आलोचक थिए मुहिका । उनकै पालमा मनोरञ्जनात्मक उद्देश्यका लागि गाँजाको प्रयोगलाई वैधानिकता दिने मुलुक बनेको थियो उरुग्वे।

मोन्टे भिडियोको मध्यमवर्गीय परिवारमा हुर्किएका मुहिका राजनीति, पुस्तक र खेतमा काम गर्ने रुचि आमाबाट आएको बताउँथे। युवावयमा उनी उरुग्वेको परम्परागत राजनीतिक शक्ति नेसनल पार्टीमा आबद्ध थिए । सन् १९६० को दशकमा उनले तुपामारोस राष्ट्रिय मुक्ति आन्दोलन (एमएलएन–टी) बनाउन मुख्य भूमिका खेले। उक्त वामपन्थी सहरी गुरिल्ला समूहले आक्रमण, अपहरण र दुश्मनको सफाया अभियान चलायो। मुहिका भने आफूले कहिल्यै पनि कसैको हत्या नगरेको बताउँदै आएका थिए ।

क्युबाली क्रान्ति र अन्तर्राष्ट्रिय समाजवादबाट प्रभावित एमएलएन–टीले उरुग्वे सरकारविरुट गुप्त प्रतिरोधी अभियान चलाएको थियो । त्यसक्रममा मुहिका चार पटक पक्राउ परे। सन् १९७० मा उनलाई ६ पटक गोली लागेर पनि बाँच्न सफल भएका थिए। उनी दुई पटक जेलबाट समेत भागे । एक पटक एमएलएन–टीका अन्य १०५ बन्दीसँग उनी सुरुङबाट भागेका थिए। सन् १९७३ मा सैनिक ‘कु’ का क्रममा उनलाई समेत बन्धक बनाइएको थियो । त्यसक्रममा उनी करिब १४ वर्ष जेल समेत बसे । झण्डै एक दशकको सैनिक शासनपछि उरुग्वेमा १९८५ मा प्रजातन्त्र पुनःस्थापना भएको थियो। जेलमा रहेका बेला आफूमा पागलपन सवार भएको मुहिका बताउँथे उनकै अनुसार बन्दीजीवनका क्रममा उनी कमिलासँग समेत कुरा गर्थे । जेलबाट छुट्दाको समय जीवनको सबैभन्दा खुसीको क्षण भएको उनी बताउँथे। ’राष्ट्रपति हुने कुरा त त्यो क्षणसँग तुलनै हुँदैन,’ उनी भन्थे। एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर