कांग्रेस–एमाले र रास्वपाका एक–एक सांसद निलम्बन, राप्रपाका सांसद फरार

काठमाडौं । टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा सत्ता साझेदार नेपाली कांग्रेस सांसद मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै प्रतिनिधिसभामा निलम्बन हुने सांसदको संख्या तीन पुगेको छ भने एक जना फरार छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद तथा पूर्वमन्त्री बस्नेतसहित १६ जना र २ कम्पनी विरुद्ध ३ अर्ब २१ करोडभन्दा बढी बिगो कायम गरी बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । योसँगै बस्नेत सांसद पदबाट स्वतः निलम्बनमा परेका छन्।
उनी सिन्धुपाल्चाेक क्षेत्र नम्बर २ बाट तत्कालिन कांग्रेस माअेावादी गठबन्धनबाट निर्वाचित सांसद हुन् ।
उनलाइ अख्तियारले १७ वर्ष कैद सजाय माग गरेको छ । बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा १७ बमोजिम दफा ३ मा भएको पहिलो संशोधन पूर्वको दफा ३ को उपदफा (१) (झ) एवं संशोधन पश्चातको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद सजायको माग गरेको छ ।
उक्त व्यवस्थाबमोजिम उनलाई १० करोडभन्दा बढी भ्रष्टाचार मुद्दामा १० देखि १४ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ । आयोगले टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाली कांग्रेस सांसद मोहन बस्नेतको सांसद पद स्वत: निलम्बनमा परेको छ।
विभिन्न फौजदारी अभियोगमा मुद्दा दायर भएपछि एमाले सचिव समेत रहेका सांसद टोपबहादुर रायमाझी, रास्वपा सभापति समेत रहेका रवि लामिछाने निलम्बनमा छन्। यस्तै राप्रपाकी सांसद गीता बस्नेत फरार छिन्।
रायमाझी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराध अभियोगमा २ वर्षदेखि निलम्बनमा छन्। रास्वपा सभापति तथा सांसद लामिछाने सहकारी ठगी प्रकरणमा मुद्दा दायरपछि निलम्बनमा छन्।
चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेविरुद्ध २०८१ पुस ७ गते आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पूरक अभियोगपत्र दर्ता भएको थियो। जिल्ला सरकारी वकिलको कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्की (अपराध अनुसन्धान तथा कारबाही शाखा) ले सभामुख देवराज घिमिरेलाई सम्बोधन गरी लामिछानेविरुद्ध अभियोगपत्र दर्ता गरेको व्यहोरा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीका गराएको संसद् सचिवालयले जनाएको थियो।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ मा 'प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वत: निलम्बन भएको मानिनेछ,' भन्ने व्यवस्था रहेको छ। लामिछाने हाल रुपन्देही जिल्ला कारागारमा छन्।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने नाममा करोडौं लिएर ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएसँगै नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परेको थियो।
पार्टीबाट निलम्बित भइसकेका एमाले सचिव एवम् अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभाका सांसद रायमाझी जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले २०८० असार १ गते शुक्रबार थुनामा पठाउने आदेश दिएसँगै स्वत: निलम्बित भएका हुन्।
सहकारी ठगी आरोपमा राप्रपाकी बस्नेत फरार छिन्। भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट दोषी ठहर भए पनि कांग्रेसकै सांसद टेकबहादुर गुरुङ सर्वोच्चको आदेशले निलम्बन फुकुवा भई प्रतिनिधिसभामा सहभागी हुँदै आएका छन्।
सहकारीको बचत अनियमितताको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत एक वर्ष देखि फरार छिन् ।
बस्नेतविरुद्ध १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार छिन् ।
नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएकी हुन् ।
छिपछिपे सहकारीबाट १६ करोड ५८ लाख हिनामिनाको विषयमा अनुसन्धान हुँदा सांसद बस्नेत सञ्चालक रहेको बर्दियास्थित कृष्णसार रिसोर्टमा ९६ लाख ऋण लगानी भएको खुलेको थियो।
प्रतिकृया दिनुहोस