कांग्रेस-एमाले दरार: ‘कांग्रेसका कारण विकास सुस्त भयो, एमालेलाई बहुमत चाहियाे’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता साझेदार दलहरूसँगको गठबन्धनमा विकास निर्माणले अपेक्षित गति लिन नसकेकोतर्फ संकेत गर्दै देशमा तीव्र विकास र सुशासनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताएका छन्।
उनले एमालेको एकल बहुमतको सरकारले मात्र देशलाई द्रुत गतिमा अघि बढाउन सक्ने दाबी गरे।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो देशलाई ओरालो लाग्नबाट जोगाउने हो भने, अर्थतन्त्र बिग्रिन नदिने, राजनीति बिग्रिन नदिने हो भने एमालेको नेतृत्व चाहिने रहेछ।’
उनले वर्तमान राजनीतिक अवस्था र विकासको गतिप्रति असन्तुष्टि व्यक्त गर्दै थपे, ‘एमाले संलग्न छ भने बिग्रिनसम्म रोक्छ, अगाडि बढ्न चाहिँ गाह्रै हुन्छ।, एमाले नेतृत्वको सरकार छ भने अलिकति बिग्रिने क्रमलाई रोकेर धिमा गतिमा अगाडि बढाउन सक्छ।’
देशलाई सुशासन र विकासको बाटोमा तीव्र गतिले लैजान एमालेको बहुमतको एकल सरकार अनिवार्य रहेकोमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने, ‘एमालेको बहुमतको सरकार छ भने देशलाई सुशासन र विकासको बाटोमा तीव्र गतिले अगाडि बढाउन सक्छ। जसबाट बिना व्यवधान नेकपा एमाले आफ्नो नीतिका साथ अगाडि बढ्न सक्छ।’
प्रतिकृया दिनुहोस