देउवा नजिकका ६ नेता छुट्टै छलफलमाः एजेण्डा सरकार कि अधिवेशन ?

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै जाँदा नेताहरु आन्तरिक गृहकार्य तथा परामर्शमा तल्लिन हुन थालेका छन् ।
नेकपा एमालेसँगको सत्ता सहकार्य सुमधुर हुन नसकिरहेका बेला भएको यस्तो छलफललाई कतिपयले काँग्रेसले सत्ताको काँध फेर्न खोजेको हो कि भन्ने दृष्टिकोण पनि राखेका छन् ।
सभापति शेरबहादुर देउवानिकट ६ जना पूर्वपदाधिकारीहरू आइतबार काठमाडौंस्थित सानेपामा छलफलमा जुटेका हुन्।
छलफलमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह र विमलेन्द्र निधि तथा पूर्वमहामन्त्रीहरू शशांक कोइराला, कृष्णप्रसाद सिटौला तथा प्रवक्ता प्रकाशशरण महत छन्।
उनीहरूबीच कांग्रेसको १५ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल भइरहेको सहभागी एक नेताको भनाइ छ। सभापति देउवानिकट पूर्वपदाधिकारीले यसअघि पनि यस्तै खालका छलफल गर्दै आएका छन्।
१५ औं महाधिवेशनमा देउवा सभापति उठ्न नमिल्ने भएपछि त्यो बेलासम्म देउवा समूहलाई एकढिक्का राख्ने र सभापति पदमा सहमतिमै उम्मेदवारी दिने गरी उनीहरूले छलफललाई तीव्रता दिइरहेका छन्।
कांग्रेसको महाधिवेशन २०८२ मंसिरमा हुनुपर्ने हो तर सभापति देउवाले विधानअनुसार थप एक वर्ष कार्यकाल थप गर्ने संकेत यसअघि नै गरिसकेका छन्।
क्रियाशील सदस्यता नवीकरणका काम ढिलाइ हुँदा केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिकासमेत ल्याउन सकेको छैन।
अहिलेसम्म ७७ मध्ये ४ जिल्लाबाट मात्रै क्रियाशील सदस्यताको नवीकरण सूची केन्द्रमा आएको छ।
नेता सिटौलाले छलफल एकघण्टासम्म चलेको बताए।
देशको समसामियक राजनीतिक र पार्टीको आन्तरिक राजनीतिबारे छलफल भएकाे, पार्टीको क्रियाशील नवीकरण चलिरहेको, यो तोकिएको समयमा किन पूरा हुने अवस्था भएन भन्नेबारे कुरा भएकाे थियाे ।
पार्टीभित्र वृहत एकता होस्, देश र जनतासामू आएका चुनौती सामना गर्न पार्टी समक्षम होस्, भन्नेबारे छलफल गरेकाे र सभापतिलाई भेटेर ध्यानाकर्षण गराउने नेताहरूले बताए ।
कांग्रेसमा पार्टीको १५औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको टिमबाट को सभापति बन्ने भन्ने विषय चासोका साथ हेरिँदै आएको छ। देउवा तेस्रोपटक सभापति बन्न नपाउने विधानको व्यवस्थाअनुसार उनले आफ्नो समूहबाट कसलाई सभापतिको उम्मेदवार बनाउँछन् भन्ने टुंगो छैन। देउवा यसमा मौन छन्।
देउवा मौन बसिरहेपछि गत फागुन २ गते संस्थापन समूहमा रहेका ११ जना नेताले देउवाकै निवास बूढानीलकण्ठमा भेटेर सभापतिको उम्मेदवार तोक्न आग्रह गरेका थिए।
कांग्रेसभित्र सरकारका विषयमा पनि प्रसस्त टिप्पणी छन् । शनिबारकाे संसदीय दलका बैठकमा कांग्रेस सहभागि भएकाे सरकारले कांग्रेसकाे हीतमा काम गर्न नसकेकाे भन्दै आलाेचना गरेका थिए ।
प्रतिकृया दिनुहोस