रविको बन्दी प्रत्येक्षीकरण रिटः वकिल नै आफन्त परेपछि...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’ मा परेको छ।
यसअघि पाँच पटक लगातार हेर्न नमिल्नेमा परेपछि आज हेर्न मिल्ने प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा तोकिएको थियो ।
तर अदालत स्रोतका अनुसार रवि लामिछानेको पक्षबाट बहस गर्ने वकिल नातेदार परेपछि न्यायाधीशले सुनवाइ नगर्ने निर्णय लिएका हुन् । प्रधानन्यायाधीश राउतको नजिकको आफन्त पर्ने वकिल लामिछानेको तर्फबाट र न्यायाधीश पाण्डेयका नजिकका आफन्त पर्ने वकिलको नाम पूर्व डीआईजी छविलाल जोशीको तर्फबाट यस मुद्दाको वकालतनामामा रहेकाले मुद्दा हेर्न नमिल्ने भएको हो ।
आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो ।
आजसहित लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट लगातार छैठौं पटक हेर्न नमिल्नेमा परेको हो । लामिछानेकोतर्फबाट एक महिनाअघि रिट दायर भएको थियो ।
सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले थुनामै राख्न आदेश दिएपछि रवि चैत २२ गते पुनः पक्राउ परेका हुन् ।
तर आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेर ३ दिनपछि मात्रै कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग गरी लामिछानेका तर्फबाट सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको हो। उनले थुनामा पठाउने उच्च अदालतको आदेश पनि पनि बदर गर्न माग गर्दै उनले सर्वोच्चमा निवेदन दिइसकेका छन् ।
हाल रवि रुपन्देही जिल्ला कारागारमा थुनिएका छन्। रविसँगै सोही मुद्दाका अर्का प्रतिवादी पूर्व डीआईजी छविलाल जोशी पनि रुपन्देही कारागारमै छन्।
एउटै मुद्दामा रुपन्देही जिल्ला अदालतले छविलाई थुनामा पठाएको तर रविलाई एक करोड धरौटीमा रिहा गरेको भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
जसमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत चैत २२ गते रविलाई पनि थुनामै राख्न आदेश दिएपछि उनी पुनः पक्राउ परेका थिए।
प्रतिकृया दिनुहोस