प्रहरीको एआइजीमा सिद्धिविक्रम बढुवा हुँदै, ११ एसएसपी डीआईजीमा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाह बढुवा सिफारिस भएका छन् । आज (मंगलबार) बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई नै बढुवा गर्न सिफारिस गरेको हो ।
आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि रिक्त हुने पदमा शाह बढुवा हुने भएका हुन् । शाह हाल विशेष ब्युरोको प्रमुखका रुपमा कार्यरत छन् । आचार्य अवकास हुनु एकसाता पहिले नै सिफारिस भए पनि एक सातापछि मात्रै मन्त्रिपरिषदको बैठकले उनलाई बढुवा गर्ने निर्णय गर्नेछ । आफ्नो ब्याचबाट शाह एआईजी बन्ने एकल अधिकारी हुन् । उनका ब्याचका अरु डीआईजीसम्म मात्रै छन् ।
यसैबिच प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।
गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा मंगलबार बसेको बैठकले २०७९ मा एसएसपी भएको टोलीबाट डीआईजीमा बढुवा सिफारिस गरेको हो। यो टोलीका १२ जना रहेकोमा सारदाप्रसाद चौधरीलाई छुटाइएको छ।
एसएसपीहरु सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ डीआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्।
प्रतिकृया दिनुहोस