गृहमन्त्री लेखकले सेटिङमा अध्यागमन पठाएका भट्टराई अख्तियारको फन्दामा परेपछि..

काठमाडौं । तुलनात्मक रुपमा राम्रो छविको भनिएका कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकका पछिल्ला निर्णयहरु एक पछि अर्को विवादमा पर्न थालेका छन् ।
५ लफडावाज एसएसपीलाई डिआईजीमा बढुवा सिफारिस गर्दा भएको आलोचना सेलाउन नपाउँदै उनैले छानेर अध्यागमन विभागको हाकिम बनाएर पठाएका कर्मचारीबारे छताछुल्ला भएको छ ।
यस अघि महाभूकम्पका बेला खरिद गरिएको त्रिपाल काण्डमा मुछिएका कर्मचारीलाई उनले छानेर अध्यागमन पठाएपछि भ्रष्टाचार र सेटिङको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर कागजत र मोवाइल जफत नै गरेको छ ।
गृह मन्त्रालयका सहसचि तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर अनुसन्धान पछि चाहेकाे बेला उपस्थित हुनेगरि छाडेको छ।
बुधबार दिउँसो पक्राउ परेका उनलाई अख्तियारले भोलि बिहीबार आफैँ उपस्थित हुने शर्तमा रिहा गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसामा नेपालीलाई पठाउन गिरोहसँग मिलेको आरोपमा अख्तियारले उनलाई पक्राउ गरेको थियो।
अख्तियारले पर्याप्त प्रमाण संकलन गरेर मुद्दा चलाउने आधार बनाएपछि मंगलबार मात्रै भट्टराईलाई गृहमन्त्रालय सरुवा गरिएको थियो। सरुवा भएको भोलिपल्टै उनी पक्राउ परेका थिए।
विमानस्थलको प्रमुख अध्यागमन अधिकृतका रूपमा काम गर्दा उनले नेपालीलाई विभिन्न श्रम गन्तव्यमा भिजिट भिसामा पठाउने गिरोहसँग मिलेर रकम उठाएको उजुरी परेपछि अख्तियारको टोलीले कार्यालयमा छापा मारेको थियो। त्यसक्रममा केही डिभाइस तथा कागजात पनि नियन्त्रणमा लिइएको थियाे।
यसअघि भूकम्पको बेला त्रिपाल अनियमितताको आरोपमा पनि उनीविरुद्ध मुद्दा चलेको थियो। विशेष अदालतका तत्काली अध्यक्ष बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले २०७४ चैत ४ गते त्रिपालकाण्डमा सफाइ दिएको थियो।
निलम्बन फुकुवा भएर सरकारी सेवामा पुनः हाजिर भएका भट्टराईलाई गृहमन्त्री रमेश लेखकले महत्वपूर्ण कार्यालयको जिम्मेवारी दिएका थिए।
प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारीमा बसेर उनले गृहमन्त्री रमेश लेखक तथा उनको सचिवालयका कर्मचारीलाई समेत सघाउने काम गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।
भट्टराईको मानव तस्करसँग साँठगाँठ भइरहेको उजुरी अख्तियारमा परेको थाहा पाउनेबित्तिकै गृहमन्त्री लेखकले भट्टराईलाई तत्काल मंगलबार एकल सरुवा गरेको बुझिएको छ ।
पाँचथरमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरलालाई करिब एक महिनादेखि उपत्यकाको कुनै पनि ठाउँमा सरुवा चाहिएको भन्दै धाइरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख अध्यागमन अधिकृत भट्टराईको मानव तस्करसँग साँठगाँठ भइरहेको कार्यमा अख्तियारको नजर परेपछि भट्टराईले नै जतिसक्दो त्यहाँबाट सरुवा हुन चाहेका थिए । उक्त सूचना पाएर गृहमन्त्री लेखकले पनि तत्काल उनलाई सरुवा गरे, तर मंगलबार सरुवा भएर रमाना लिन नपाउँदै बुधबार अख्तियारले उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढायाे ।
अध्यागमन कार्यालयबाट वैदेशिक रोजगारीमा यूएई र साउदी अरेबियामा भिजिट भिसामा पठाएवापत प्रतिव्यक्ति ५० देखि ७५ हजारसम्म, युरोपियन मुलुक माल्टा, पोर्चुगललगायतका देशमा पठाएवापत ३ देखि ४ लाख रुपैयाँसम्म अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीले उठाउने गरेका छन् ।
त्रिभुवन अन्तर्राष्टिय विमानस्थल अध्यागमन कार्यालयमा २४ सै घण्टा काम हुने र ८ देखि ९ घण्टामा ३ सिफ्टमा ३ वटा कर्मचारी समूहले काम गर्दै आएको छ । एउटा सिफ्टबाट त्रिभुवन अन्तर्राष्टिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखलाई उठाइएको पैसाको भाग लगाएर ५ भाग दिने गरिएको थियो ।
तर भट्टराई प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारीमा गइसकेपछि उनले ६ भाग लिने गरेकाे अध्यागमन कार्यालय स्रोतले बतायो । त्यस्तो भएपछि त्यहाँ कार्यरत कर्मचारी असन्तुष्ट थिए । असन्तुष्ट कर्मचारी स्रोतकै अनुसार गृहमन्त्रीले नै प्रतिदिन २ लाख रुपैयाँसम्म लिने गरेकाे चर्चा चल्ने गरेको छ ।
प्रतिकृया दिनुहोस