यो सरकारका कारण जनतामा वितृष्णा बढ्यो– प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकारका कारण जनतामा वितृष्णा बढेको टिप्पणी गरेका छन् ।
आज (बिहीबार) बागलुङको बुर्तिबाङ बजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले भ्रष्टाचारी र बिचौलियाको पक्ष पोषण गर्दा जनतामा निराशा र वितृष्णा बढेको बताए । मध्य पहाडी लोकमार्ग अभियान कार्यक्रम अन्तर्गत उनले देशमा अनियमितता र भ्रष्टाचार बढेकाले जनता निराश भएको बताए ।
‘वर्तमान सरकारका कारण देशमा भ्रष्टाचार र अनियमितता बढेको छ, गरिब दलित र किसान वर्गको समस्या अहिलेको सरकारले सुन्नै चाहेको छैन,’ उनले भने, ‘हामी यो सरकारलाई जनताको बीचबाट खबरदारी गर्न यहाँ आएका छौँ ।’
वर्तमान सरकार बहुमतको घमण्डमा अगाडि बढ्न खोजिरहेको उनको भनाई छ । ‘हामीले घमण्डमा डुबेको सरकारलाई सचेत गराइरहेका छौँ, यो सरकारले आम नागरिक र पिछडिएको वर्गको कुरा सुन्नै नचाहेका कारण ठूलो विद्रोह हुनसक्ने अवस्था छ,’ प्रचण्ड भने, ‘यही जनताको निराशामाथि खेलेर प्रतिगामीहरूले टाउको उठाएर प्राप्त उपलब्धि उल्ट्याउन खोजिरहेका छन् ।’
प्रचण्डले हुलाकी मार्ग, मध्य पहाडी लोकमार्ग, मदन भण्डारी मार्ग लगायत देशका महत्वपूर्ण राजमार्ग आफ्नो पहलमा भएको बताए । ‘देशका लागि दीर्घकालीन महत्व राख्ने पुष्पलाल मध्य पहाडी लोकमार्ग, हुलाकी राजमार्ग मदन भण्डारी मार्ग हाम्रै पार्टीको पहलमा भएको हो,’ उनले भने, ‘हामीले राम्रो काम गरिरहेको बेलामा भ्रष्टाचारीहरू डराएर अर्को गठबन्धन बनाउन पुगे । जसले गर्दा हामी अहिले जनताको आगनमा आइपुगेका छौँ ।’ उक्त अवसरमा ढोरपाटन निसी तमानका राजनीतिक दलले ज्ञापन पत्र बुझाएका थिए ।
प्रतिकृया दिनुहोस