ज्ञानेन्द्र शाहको सक्रियता रोकिएनः ४ राजावादी शीर्ष नेतासँग गोप्य वार्ता

काठमाडौं । राजावादीहरुको सक्रियता बढिरहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आफ्नो सक्रियता कम गरेका छैनन् । उनले एक पछि अर्को सन्देश र राजनीतिक भेटवार्तालाई तिब्रता दिइरहेका छन् ।
कहिले आफ्नै निवास, कहिले नगरकोट त कहिले साेल्टी हाेटलमा भेट गर्ने गरेका उनले जनआन्दोलनको तयारी गरिरहेका राजावादी ४ नेतासँग लन्च मिटिङ गरेका छन् । शाहले सोल्टी होटलमा लन्चसहित करिब डेढ घन्टा कुराकानी गरेको स्रोतले बतायो ।
‘संयुक्त जनआन्दोलन’ लाई प्रभावकारी र निर्णायक बनाउने दौडधुपमा रहेका राजावादी नेताहरुले यसैको सरसल्लाहका लागि पूर्वराजासँग भेटेका हुन् ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्ट पूर्वराजा भेट्न सोल्टी होटल गएका थिए ।
संयुक्त जनआन्दोलनलाई कसरी प्रभावकारी बनाउने तथा राजावादीहरुबीच आपसी समझदारी र विश्वास बढाउने विषयमा कुराकानी भएको जनाइएको छ ।
यसअघि वैशाख तेस्रो साता पूर्वराजाले नगरकोटमा बसेर राजावादी नेताहरुलाई भेटका थिए । लगत्तै राजावादी समूहले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका थिए ।
राजावादी समूहले राजतन्त्रको पुनर्स्थापना नभएसम्म आन्दोलन नरोकिने जिकिर गरेका छन् । तर, बिहीबार मात्रै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहलाई प्रतिबन्ध लगाउनेसम्मको चेतावनी दिएका थिए ।
नगरकोटबाट फर्किएपछि पूर्वराजा अहिले निर्मलनिवासस्थित निवासमै बस्दै आएका छन् । त्यहाँपनि उनले भेटवार्ताहरु गर्दै आएको स्रोतको भनाइ छ ।
प्रतिकृया दिनुहोस