गाजामा भोकमरीः मारमा बालबालिका

एजेन्सी । इजरायल–हमास युद्वका कारण १७ हजारभन्दा धेरै बालबालिकाले ज्यान गुमाइसकेको संयुक्त राष्ट्रसंघले जनाएकाे छ । यीमध्ये २७४ नवजात शिशु र ८ सयभन्दा बढी १ वर्षमुनिका बालबालिका रहेको प्यालेस्टाइनी अधिकारीहरूको दाबी छ । यही अवधिमा ५० भन्दा बढी बालबालिकाले भोकमरी र १७ बालबालिकाले विस्थापितका लागि राखिएका टेन्टमा चिसोका कारण जीवन गुमाएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।
युनिसेफका अनुसार ७१ हजार बालबालिका र १७ हजार सुत्केरी गम्भीर कुपोषणको सिकार बनेका छन् । ११ सातायता राहत सामग्री प्रवेशमै रोक लगाइएका कारण २० लाख गाजावासीको भोक–प्यास र पीडा दिनानुदिन चर्किंदै गएको छ । गाजाका झन्डै १० लाख बालबालिका विस्थापित भएको र गाजामै बसोबास गर्ने सबै बालबालिका कुनै न कुनै किसिमको हिंसा भोगेका कारण शारीरिक वा मानसिक समस्याबाट गुज्रिरहेको ह्युमन राइट्स वाचले जनाएको छ ।
७ अक्टोबर २०२३ मा सुरु भएको युद्धमा झन्डै ६० हजार प्यालेस्टाइनी नागरिकको मृत्यु भइसकेको छ । युद्धमा परी १ लाख १५ हजारभन्दा बढी बालबालिका घाइते र अंगभंग भएको अड्कल गरिएको छ । हजारौं बालबालिका युद्धमा मातापिता गुमाएर बेसहारा बनेका छन् । जथाभावी छाडिएका हातहतियारका कारण घाइते भएका तथा लगातारको द्वन्द्व र स्थानान्तरणले मनोवैज्ञानिक समस्यामा परेका बालबालिकाको लेखाजोखा गरिएको छैन । युद्ध थामिने कुनै संकेत नदेखिएको अवस्थामा शिक्षा, पौष्टिक आहार, वृत्ति विकास, स्वच्छ वातावरणसँगै परिवारसँग हुर्कन पाउने बालबालिकाको अधिकारका विषय पूरै ओझेल परेका छन् ।
आक्रमणमा नपरेका र अभिभावक नगुमाएका बालबालिकाको स्थिति पनि दिन प्रतिदिन दयनीय बन्दै गएको छ । अहिलेकै अवस्था लम्बिए सेप्टेम्बर अर्थात् अबको ५ महिनामा ४ लाख ७० हजार (गाजाको जनसंख्याको २२ प्रतिशत) ले गम्भीर भोकमरी र कुपोषणको सिकार बन्नुपर्ने प्रक्षेपण ओचा र युनिसेफका पछिल्ला अपिल र प्रतिवेदनले सार्वजनिक गरेका छन् । १४ हजारभन्दा बढी बालबालिका अत्यन्तै डरलाग्दो कुपोषणको चपेटामा पर्न सक्ने अवस्था रहेको राष्ट्रसंघीय निकायहरूको भनाइ छ ।
मार्च २ मा इजरायली नाकाबन्दी सुरु भएयता गाजामा कुपोषणका कारण ५७ बालबालिकाको मृत्यु भएको रिपोर्ट छ । अहिलेको खाद्य नाकाबन्दी नरोकिए लगभग १४ हजारभन्दा बढी बालबालिकाको जीवन तत्काल जोखिममा पर्ने प्यालेस्टिनी अधिकारीहरूले पनि बताउँदै आएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र पश्चिमा बहसमा भने इजरायली बालबालिकामाथिको आक्रमण भयावह रूपमा चित्रण गरिने तर गाजामा दिनुहँ ज्यान गुमाउने प्यालेस्टिनीहरू ‘फुटनोट’ मा पर्ने गरेको भन्दै आलोचना हुने गरेको छ ।
गाजामा रहेका झन्डै २१ लाख मानिसका लागि राहत सामग्री रोक्ने र आपत्कालीन सेवामा रहेका कर्मचारीमाथि आक्रमण गर्ने इजरायली नीतिको विरोध बढ्दै गएको छ ।
इजरायलले शरणार्थी शिविर, तोकिएका सुरक्षित क्षेत्र र विस्थापित टेन्टमा बसेका प्यालेस्टिनीमाथि समेत आक्रमण गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिकृया दिनुहोस