• २०८२ असार २१ शनिबार
  • Saturday, 5 July, 2025

युवा संघमा ओलीको आदेश अस्वीकारः थेवे र पुरीबीच हुने भयो चुनाव

पोखरा । नेकपा एमालेको युवा संगठन युवा संघको नयाँ नेतृत्वका लागि चुनाव हुने पक्का भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले सर्वसम्म नेतृत्व चयन गर्न र यसअघिका अध्यक्ष क्षितिज थेवेलाई नै दोहोर्याउन निर्देशन दिएपनि हलले भने त्यो आदेश अस्वीकार गरेको छ । 

बन्दसत्र हलमा अहिले पनि चुनावको माग गर्दै नाराजुलुस गरिएका छन् । तर स्रोतका अनुसार अब चुनावमा जाने तयारी सुरु गरिएको छ । 

निर्वाचनका लागि शनिबार नै प्रतिनिधिको नामावली प्रकाशित भइसकेका छन् भने मतदान गर्न ४६ वटा इलेक्ट्रिक भोटिङ मेसिन ल्याइएको छ।

संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष क्षितिज थेबे र महाचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने संघका एक नेताले जानकारी दिए।

अध्यक्षका दावेदार थेबे यसअघि महासचिव हुँदै संघको नवौं (नेपालगञ्ज) महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए भने पुरी उपाध्यक्ष, महासचिव हुँदै अहिले अध्यक्षका दाबी गरिरहेका छन्। 

थेबेलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, मोर्चा विभाग प्रमुख भानुभक्त ढकाललगायतले समर्थन जनाएका छन् । 

पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्वअध्यक्ष महेश बस्नेत, संघका पूर्वअध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह, एमाले नेता विनोद ढकाल लगायतको समर्थन छ।

युवा संघ नेपालका इञ्चार्ज राजीव पहारीले अझै पनि सहमतिका लागि प्रयास भइरहेको जानकारी दिए। सहमति हुन नसके निर्वाचन आयोगले निर्वाचनमार्फत नेतृत्वको टुंगो लगाउने तयारी गरेको उनले बताए। 

अहिले प्रतिनिधिका विषयमा छलफल भइरहेको र छलफल सकिएपछि उम्मेदवारी दर्ताका प्रक्रिया सुरू हुने एक नेताले जानकारी दिए। 

युवा संघमा केन्द्रीय आयोगहरूको प्रतिनिधि विवाद छ। केही सदस्यहरूले शपथ नखाएकाले उनीहरूलाई प्रतिनिधित्व गराउने नि नगराउने भनेर छलफल भइरहेको छ। युवा संघमा निर्वाचन, अनुशासन, लेखा र युवा विज्ञ परिषद् गरी चारवटा आयोग छन्। 

युवा संघको महाधिवेसनमा सहभागी हुन सबै पालिका, जिल्ला, प्रदेश गरी १ हजार ८३६ जना प्रतिनिधी छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर