तीनकुने वितण्डाबारे राजावादीहरुबीचमै आरोप प्रत्यारोप, जिम्मा लिने नेता भेटिएन

काठमाडौं । राजा फर्काउन भन्दै राजावादीहरुले गरेको तीनकुने वितण्डाको जिम्मा लिने राजावादी नेता नै भेटिएन । कार्यक्रम आयोजकदेखि खटाइएका कमाण्डरहरुले नै घटनाका विषयमा आरोपप्रत्यारोप गरेर आफू जोगिने प्रयास गरेका छन् ।
राजावादी प्रदर्शनका ‘जनकमान्डर’ दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबराले घटनामा एकअर्कालाई दोषारोपण गरेका हुन् । तोडफोड र आगजनीमा संलग्नले पनि नेताहरूको उक्साहटमा आफूहरू परेको बयान प्रहरीलाई दिएका छन् ।
‘जनकमान्डर’ प्रसाईंले तीनकुने प्रदर्शनको मुख्य जिम्मेवार ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलगायत रहेको बयान प्रहरीलाई दिएका छन् । समितिको सदस्य तथा आन्दोलनको जनकमान्डर भई कार्यविभाजनको काम मात्र आफूले गरेको उनको जिकिर छ । ‘यसको मुख्य काम सबै संगठनलाई मिलाउने, विभिन्न संगठनलाई एक ठाउँमा व्यवस्थित बनाउने काम नवराज सुवेदी, जगमान गुरुङ, अस्मिता भण्डारी, रमा सिंह, कमल थापा, पशुपतिशमशेर राणालगायतका व्यक्तिहरूले गर्ने हुन्,’ उनले भनेका छन् ।
प्रसाईंले आन्दोलन परिचालन समितिका संयोजक जबराको मातहत रहेर जनआन्दोलन परिचालन गर्ने सहयोगी भूमिकामा मात्र आफू रहेको बयान दिएका छन् । ‘मेरो भूमिका आन्दोलनलाई अघि बढाउने हो । अरू मिलाउने भूमिका धवलशमशेर जबराको हो,’ उनको बयान छ ।
नेताका घरमा आगो लगाउनुपर्छ भनेर अभिव्यक्ति दिने व्यक्ति राप्रपाकै रहेको प्रसाईंको बयान छ । ‘संयुक्त जनआन्दोलन समितिसमेतले आयोजना गरेको तीनकुनेको कार्यक्रममा कार्यक्रम सञ्चालन हुनुपूर्व ‘नेताको घरदैलोमा आगो लगाउने हो अब, हामी यहाँ देउसीभैलो खेल्न आएको होइन’ भनी स्टेजमा दिएको मन्तव्यसहितको मिसिल संलग्न भिडियो क्लिप देख्न पाएँ । यस्तो मन्तव्य दिने व्यक्ति राप्रपाका हुन्,’ उनले भनेका छन् ।
‘जनकमान्डर’ प्रसाईंले प्रदर्शनमा प्रहरीमाथि ढुंगा प्रहार भएपछि बल प्रयोग गरिएको बयान प्रहरीलाई दिएका छन् । कार्यक्रम सुरु गर्न नपाई जनआन्दोलन परिचालन संयोजक जबरा, सोही संगठनका सदस्यसचिव रवीन्द्र मिश्र र राप्रपाका कार्यकर्ता तथा सन्तोष राजावादीको टिमले कार्यक्रमस्थलभन्दा ३ सय मिटर टाढा रहेका प्रहरीमाथि ढुंगा हानेको आरोप उनले बयानमा लगाएका छन् । ढुंगा प्रहार गरिएका कारण प्रहरीले घरका छत तथा भुइँबाट अश्रुग्यास र गोली प्रहार गरी घोषणासभामा भेला भएका सर्वसाधारण मानिस बसेको ठाउँ रणभूमि बनाइदिएको प्रसाईंको भनाइ छ ।
१५ चैतका दिन संसद् भवन घेराउ गर्न जाने आफ्नो योजना नरहेको पनि प्रसाईंले प्रहरीलाई बताएका छन् ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले १५ चैतको कार्यक्रम प्रसाईंको समूहले नै आयोजना गरेको बयान दिएका छन् । ‘दुर्गाजीकै अनुरोधमा १४ चैतमा पत्रकार सम्मेलन गरी समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई जनकमान्डर घोषणा गर्नुभएको हो,’ उनले प्रहरीलाई भनेका छन्, ‘१५ चैतको कार्यक्रम मैले नेतृत्व गरेको होइन । सामाजिक सञ्जालमा मैले गरेको विश्लेषण र त्यस दिनको हिंसाको कुनै सम्बन्ध छैन । मेरो भूमिका अतिथिको थियो । कार्यक्रमको आयोजना, सञ्चालन र व्यवस्थापनमा मेरो कुनै भूमिका थिएन ।’ उनले कुनै पनि हिंसाजन्य कार्यमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।
मिश्रले कार्यक्रममा राप्रपाको ब्यानर रहेको भने स्वीकार गरेका छन् । ‘राप्रपा सो कार्यक्रमको आयोजक रहेको भन्ने ब्यानर उहाँहरूले आग्रह गरेपछि पठाइएको हो । ब्यानर लगाइएको स्टेज कसरी बनाइयो, ब्यानर कसरी राखियो, त्यसबारे मलाई जानकारी थिएन,’ उनको बयान छ ।
जबराले भने आफू संयोजक रहेको समितिको कार्य शान्तिपूर्ण आन्दोलनको संयोजन र परिचालन गर्ने रहेको बयान दिएका छन् । १५ चैतको कार्यक्रमको मूल आयोजक प्रसाईं नै भएको उनको पनि बयान छ । ‘म अतिथिको हैसियतमा सभामा मन्तव्य राख्ने उद्देश्यले सहभागी भएको हुँ । म र मेरो पार्टी हिंसात्मक प्रदर्शनको पक्षमा छैन,’ उनले भनेका छन् ।
प्रसाईं नेतृत्वको संगठनका प्रेमदिप लिम्बूले भीडलाई उत्तेजित बनाउने अभिव्यक्ति मञ्चबाट दिएको जबराले बयानमा खुलाएका छन् । उनले सन्तोष सिलवाल, सतिश न्यौपाने, शिशिर जीसी, कुमार बस्नेतलगायत व्यक्ति राजावादी समर्थक रहेकाले आफ्नो कुराकानी हुनु स्वाभाविक रहेको बयान दिएका छन् । तीनकुने घटनाको अनुसन्धानमा राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री जबरा पक्राउ परेर हाजिरी जमानीमा छुटेका थिए । जिल्ला अदालत काठमाडौंमा आइतबार उनीहरू दुवैविरुद्ध राज्यविरुद्ध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।
अनवरत तत्पर फौज (एटीएफ) का अनुप राजावादी भनिने गोकर्ण शाहीले तीनकुने क्षेत्रमा तोडफोड र आगजनी गर्न आदेश दिने व्यक्ति ‘जनकमान्डर’ प्रसाईं, नेताहरू रवीन्द्र मिश्र, धवलशमशेर जबरालगायत रहेको बताएका छन् । ‘हामीले निज व्यक्तिहरूको आदेशमा सनातन हिन्दु राष्ट्रसहितको राजसंस्थाको पुनःस्थापना गर्ने उद्देश्य प्राप्तिका लागि तोडफोड र आगजनी गरेका हौं,’ उनले बयानमा भनेका छन् ।
पूर्वराजा शाहको सचिवालयसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूको निर्देशनमा आफूहरू १५ चैतको प्रदर्शनमा सहभागी भएको शाहीको भनाइ छ । ‘हामीलाई निर्देशन दिने सन्तोष राजावादी भन्ने सन्तोष सिलवालसमेतका व्यक्तिहरूको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संस्थापक दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ नेताहरू रवीन्द्र मिश्र, धवलशमशेर जबरा, पूर्वराजा ज्ञानेन्द्र शाहको निजी सचिवालयसमेतसँग प्रत्यक्ष रूपमा भेटघाट, कुराकानी हुँदै आएको थियो,’ उनको बयान छ ।
तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रमेश राईले पनि पूर्वराजा शाहको सचिवालयसँग विभिन्न कार्यक्रमका सम्बन्धमा सिधै कुराकानी हुने गरेको बयान दिएका छन् । ‘राजावादीबाट आयोजना हुने कार्यक्रममा हाम्रो प्रत्यक्ष कुराकानी सन्तोष सिलवाल, विष्णु रिमाल र सतिश न्यौपानेसँग मात्र हुने गरेको थियो । निजहरूको दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ नेताहरू, पूर्वाराजा ज्ञानेन्द्रको निजी सचिवालयसँग के–कस्तो कार्यक्रम सञ्चालन गर्ने भन्नेसम्बन्धी कुराकानी हुने गर्थ्यो,’ उनले भनेका छन् ।
तारा राजावादी भनिने सरोज गौतमले तीनकुनेको घरमा आफूलगायतले आगो लगाएको स्वीकार गरेका छन् । आफूभन्दा अगाडि नै घरमा प्रवेश गरी कोठाभित्र आगो लगाउँदै गरेका हेम भन्ने भीमराम थारू, दण्डपाणि रेग्मी, सतिश न्यौपाने, गोकर्ण शाहीलगायतसँग मिलेर गोकर्णकै हातमा रहेको लाइटर लिई आगो लगाएको उनको बयान छ । घरमा आगो दनदनी बल्न थालेपछि तल ओर्लेर डेरातर्फ भागेको समेत उनले प्रहरीलाई बताएका छन् । त्यस घटनाको जिम्मेवारी सन्तोष राजावादी, प्रसाईं, जबरा र मिश्रले लिनुपर्ने उनको बयान छ ।
प्रसाईं, मिश्र, जबरासमेतका नेताहरूले माइकिङ गरी उग्र अभिव्यक्ति दिएपछि आफूलगायतले प्रहरीमाथि ढुंगा प्रहार गरेको पनि गौतमले प्रहरीलाई बताएका छन् । छातीमा ज्ञानेन्द्र र कोमल शाहको ट्याटु खोपेका उनी ‘एटीएफ’ मा आबद्ध थिए ।
‘एटीएफ’ संयोजक रहेका सन्तोष सिलवालले घरमा आगो लगाउने सरोज गौतम, गोकर्ण शाहीलगायतलाई आफूले चिन्ने बयान दिएका छन् । दुई वर्षअघि पूर्वराजा झापा गएका बेला प्रसाईंलाई आफूले चिनेको उनको भनाइ छ । उनले २०६४ देखि आफू राजावादी रहेको पनि बताएका छन् ।
‘जनकमान्डर’ प्रसाईंले तीनकुने प्रदर्शनको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्रलाई निर्मल निवासमा भेटेको प्रहरीलाई बताएका छन् । पूर्वराजा भेटेर फर्किएकै दिन सुवेदी नेतृत्वको समितिले प्रसाईंलाई ‘जनकमान्डर’ घोषणा गरेको थियो । पूर्वराजा शाहसँग सम्बन्धित बयानमा प्रसाईंले भनेका छन्, ‘यी नेताहरूबाट देश चल्दैन, तपाईं आफैं आएर देश चलाउनुपर्छ, हामी नेपालीको अभिभावक हुनुपर्छ किनकि यो देश तपार्इंको जिजु बडामहाराजाधिराज पृथ्वीनारायण शाहले आर्जेको देश भएकाले तपाईं पुनः आउनुपर्यो भनेर म पटक–पटक भेट्न गएको हुँ ।’
पूर्वराजासँग आफ्नो राम्रो चिनजान रहेको पनि प्रसाईंले बयानमा उल्लेख गरेका छन् । ‘निजसँग मेरो राजा र जनताबीचको सम्बन्ध हो । निजसँग मेरो विगत ५ वर्षदेखि पटक–पटक भेट भइरहेको छ । निजसँग निजी सचिवमार्फत भेटघाट हुने गरेको थियो,’ प्रसाईंले भनेका छन् ।
घटनामा संलग्न देखिएका चार नाबालकविरुद्ध सोमबार भक्तपुर बाल अदालतमा मुद्दा दर्ता गराउने तयारी, अभियोगपत्रमा नाम उल्लेख नभएकाहरू आइतबारै हिरासतमुक्त
काठमाडौंको तीनकुने क्षेत्रमा १५ चैतमा भएको हिंसात्मक घटनामा संलग्न भएको अभियोगमा ६१ जनाविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइएको छ । १ सय ८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएकामा जिल्ला सरकारी वकिलको कार्यालयले ६१ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो । अन्य चार नाबालकविरुद्ध भने सोमबार भक्तपुर बाल अदालतमा मुद्दा दर्ता गराउने तयारी छ ।
सरकारी वकिलको कार्यालयले राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गाप्रसाद प्रसाईंलाई पाँच तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबराविरुद्ध चार–चार कसुरमा सजाय मागदाबी गरेको छ ।
जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवतर्फ, कर्तव्य ज्यानतर्फ, ज्यान मार्ने उद्योग, संगठित अपराध र एकीकृत कसुरमा सजायको माग गरिएको छ । मिश्र र जबरामाथि भने राज्यविरुद्ध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा अभियोग लगाइएको छ ।
प्रतिकृया दिनुहोस