• २०८२ असार २५ बुधबार
  • Wednesday, 9 July, 2025

संसद र सडक दुवैतिर गृहमन्त्रीको राजीनामा माग (भिडियाे)

काठमाडौं । मानव तस्करी काण्डमा जोडिएको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले संसद र सडक दुवै तताएका छन् ।

विपक्षीको अवरोधका कारण प्रतिनिधि सभा बैठक आज अवरुद्ध भयो भने युवा विद्यार्थीले काठमाडौं माईतघरमा प्रदर्शनसमेत गरेका छन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखको नाम जोडिएपछि उनको राजीनामा माग्दै विपक्षीले विरोध जनाएका थिए।  सभामुख देवराज घिमिरेले विपक्षी दलका नेताहरू माओवादी केन्द्रका  वर्षमान पुन र रास्वपाका शिशिर खनाललाई बोल्न समय दिएका थिए।  

उनीहरूले आफ्नो धारणा राखेर विरोध गरिरहे।  त्यसपछि सभामुख घिमिरेले ३० मिनेटको लागि स्थगित गरेको बैठक अर्को सूचना टाँसेर २:३० बजेसम्मका लागि स्थगित भयो। सभामुखले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका प्रमुख सचेतकसँग छलफल गरे। तर, उक्त छलफलमा पनि विपक्षी दलहरू गृहमन्त्री राजीनामाको विषयमा टसमस नभएपछि आजको बैठक कार्यसूचीमा प्रवेश नै नभई स्थगित भयो।  बिहान ११ बजे बस्ने भनिएको बैठक १२ बजेमात्रै सुरु भएको थियो। 

बैठक सुरु भएलगत्तै विपक्षी दलले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताउँदै नाराबाजी गरेका थिए।  आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै केन्द्रका उपमहासचिव वर्षमान पुनले गृहमन्त्री लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् । उनले भिजिट भिसाको नाममा अर्बौ रकम असुलीको जालो फेलिएको बताउँदै यो सामान्य भ्रष्टाचार नभइ यो सामान्य नागरिक रोजगारका लागि विदेश जान खोजेका युवाहरूमाथि गरिएको लुट र संगठित रूपमा गरिएको मानव तस्करी भएको जिकिर गरे । 

पार्टीका उपमहासचिव वर्षमान पुनले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने जिकिर गरे। 

उनले भने, ’उहाँले छानबीनका लागि मार्गप्रशस्त गर्नुपर्छ। उहाँको राजीनामा नदिएसम्म प्रतिपक्ष दलले संसद् चल्न दिइन्न।’ मन्त्री लेखकले विशेष समय लिएर त्यस बारेमा प्रष्ट पार्ने बताइएको थियाे। यद्यपि विपक्षी दलहरूले भने मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै संसद अवरोध गरेकाे हाे । रास्वपा सांसद शिशिर खनालले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन आयोग गठनको माग गरे। ‘यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन। यो त म्यानपावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीज्यूसम्मको सचिवालय जोडिएको छ। प्रश्न मन्त्रीज्यूमाथि उठेको छ, राजीनामा आउनुपर्छ,’ उनले भने, ‘आज हामी राजीनामा मात्रै माग गर्दै छैनौं। संगठित ढंगले भएको यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ। संगठित अपराध र सम्पत्ति शुद्धीकरण जोडिएर हेर्ने गरी छानबिन गर्ने एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न सक्दैन।’ 

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माइतीघरमा युवा, विद्यार्थीले मंगलबार प्रदर्शन गरे । माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दल निकट युवा संगठन र विद्यार्थी संगठन आबद्ध युवाहरुले भिजिट भिसा प्रकरण छानबिन, दोषीलाई कारबाहीलगायत मागसहित प्रदर्शन गरेका हुन् ।

अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिस्ट लिग नेपाल र युवा संगठन नेपालले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहविरुद्ध विरोध प्रदर्शन गरेका थिए । गृह मन्त्रालयले बनाएको मापदण्डको आडमा अध्यागमनका कर्मचारीले अनावश्यक दुःख दिएर भिजिट भिसामा जाने नेपालीबाट लाखौं असुल्ने खेल संस्थागत रूपमा चल्दै आएको पाइएपछि अहिले गृहमन्त्री लगायतलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग उठिरहेको छ ।

गृहले नेपालीलाई युरोप, एसिया र अफ्रिकाका विभिन्न मुलुकमा भिजिट भिसामा जानलाई ‘कठोर प्रावधान’ सहितका मापदण्ड जारी गरेपछि केही वर्षदेखि नै विकल्पका रूपमा ‘सेटिङ’ मिलाएर तस्करी गर्ने गरेको देखिएको हो । मानव तस्करसँग मिलेर भिजिट भिसामा सेटिङ गरेको आरोपमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतबाट गत मंगलबार साँझमात्रै गृह मन्त्रालय तानिएका सहसचिव भट्टराईलाई आयोगले बुधबार सोधपुछका लागि नियन्त्रणमा लिएर रिहा गरेको छ । उक्त घटना छानबिन गर्नुपर्ने, गृहमन्त्री लेखकले राजीनामा दिनुपर्नेलगायत माग राखी मंगलबार प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा समेत अवरोध गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर