बाढीको बिगार सुरु : बस्तीमा पस्यो माइखोला

झापा। मनसुन सुरु भएसँगै बाढी–पहिरोको बिगार सुरु भएको छ। झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन्। मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन्। निर्माणाधीन एसियन हाइवेको डाइभर्सन बगाउँदा पूर्व पश्चिम राजमार्गमा यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ ।

वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ । ‘माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो’, अध्यक्ष चाम्लागाईले भने, ‘यदि ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ ।’


यस वर्ष सदरद भन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीहरूमा बाढीको त्रास बढेको छ। बाढीले जेठा टुडु माइला, सोम बास्की, ताला सोरेन, जेठा टुडु कान्छा, मण्डल टुडु जेठा, शुकदेव टुडु, मण्डल टुडु कान्छा, कृष्ण टुडु, साईवा टुडु जेठो, जेठा टुडु, साइँला टुडु, गोपाल टुडु कान्छा, काले टुड घर डुबानमा परेका छन् ।

त्यस्तै धरमलाल हेमरम, रञ्जन टुडु, चन्दु सोरेन, गोपाल टुडु जेठो, साईवा टुडु कान्छा, श्याम टुडु, बुधलाल हाँस्दा, सुनिराम टुडु, गुणन टुडुलगायतको घरमा डुबानमा परेको प्रहरीले जनाएको छ । बस्तीबाट खोलाको पानी बगिरहेको छ, भने स्थानीय मानिस बाटोमा बस्न बाध्य भएका छन् । अहिले पानीको सतह कम हुँदै गइरहेको प्रहरीले जनाएको छ । यता गए राति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ ।

वर्षाले एसियन हाइवेमा निर्माण गर्न बनाइएका विभिन्न ठाउँका डाइभर्सन बगाउँदा यातायात सञ्चालनमा समस्या उत्पन्न भएको हो । मेचीनगरको धाइजनस्थित ढुकुरे खोला र कालीझोरामा बिहान ३ बजेतिर डाइभर्सन बगाएको थियो । क्षति पुर्‍याएको स्थानहरूमा डाइभर्सन बनाउने काम धमाधम भइरहेको छ ।

बस तथा साना सवारीसाधनहरू सञ्चालन भइरहेको बताउँदै इलाका प्रहरी कार्यालय धुलाबारी प्रहरी निरीक्षक पाण्डव राजवंशीले भने, ‘ठूला मालवाहक सवारीसाधन भने सञ्चालनमा आएको छैन, अबको केही घण्टाभित्र सञ्चालनमा आउँछ।’ पूर्वी नाका काँकडभिट्टादेखि बिर्तामोड सडक खण्डमा समस्या आएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर