ओली ३ पटक प्रधानमन्त्री भए, तर उनको क्षेत्रको कनकाई पुल १४ वर्षदेखि अधुरै

विराटनगर । प्रधानमन्त्री केपी ओलीकै निर्वाचन क्षेत्र झापाकाे गाैरीगञ्जमा रहेकाे एउटा पुल विगत १४ वर्षदेखि अलपत्र परेकाे छ । हुलाकी राजमार्गमा पर्ने झापाको गौरीगन्ज गाउँपालिकालाई झापा गाउँपालिकासँग जोड्ने ७ सय २५ मिटर लामो कनकाई नदीमाथिको यो पुल अहिले पनि अधुरै छ।
हुलाकी राजमार्गअन्तर्गतको यो महत्वपूर्ण संरचना राज्यको बेवास्ता र निर्माण व्यवसायीको चरम लापरवाहीको शिकार बनेको हो। यो पुल ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको गृह जिल्लाको हो।
ओलीले चुनावका बेला कनकाई पुल चाँडै बन्ने आश्वासन दिएका थिए। तर, अहिलेसम्म कुनै ठोस उपलब्धि देखिएको छैन । झापाको भद्रपुरदेखि सुरु हुने हुलाकी राजमार्गमा अब कनकाई नदीमाथिको पुल निर्माण मात्र बाँकी छ । तर, यही एक अधुरो संरचनाले झापा–विराटनगरसम्मको करिव ९१ किलो मिटर लामो यात्रा अझै कठिन बनाएको छ ।
रतुवा नदीको पुल पनि लामो समय पछि भर्खरै निर्माण सकिएको छ । विरिङ पुल पनि बनिसकेको छ । अहिले बाँसको फड्केबाट सर्वसाधारण आउजाउ गर्दै आएका छन् । फड्के तर्दा प्रति व्यक्ति २०, साइकलसहित ३० र मोटर साइकलसहित ५० तिर्नु पर्ने बाध्यता छ । फड्केबाट चार चक्के सवारीलाई चाँहि तर्न मिल्दैन ।
विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ। यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो। यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत असर परेको छ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिएको थियो। २०७२ को जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि, हालसम्म पुलको ५८ प्रतिशत भौतिक प्रगति भएको छ।
पाँच पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माणमा गति आउन नसकेको कार्यालयका सूचना अधिकारी समेत रहेका इञ्जिनियर प्रभात किरण राईले जानकारी दिए। उनका अनुसार पाँचौँ पटक थप भएको म्याद २०८० सालको असारमा सकिएको थियो।
पुल निर्माणको काममा प्राविधिक त्रुटि देखिएपछि कार्यालयको अनुरोधमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाएको छ। प्रतिवेदनअनुसार देखिएका समस्याको समाधान गरी काम अगाडि बढाउन पटक–पटक निर्देशन दिइए पनि निर्माण कम्पनी काम सुरुआत नगरेको इञ्जिनियर राईले बताए। उनका अनुसार अझै पनि काम सुरु गर्न आनाकानी गरिराख्ने हो भने ठेक्का रद्द गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ।
प्रतिकृया दिनुहोस