च्याम्पियन्स लिगको उपाधि भिडन्त आज, पिएसजीले लेखाउला इतिहास ?

काठमाडौं । विश्व क्लब फुटबलकै उच्चतम् प्रतियोगिता युरोपेली च्याम्पियन्स लिगको उपाधि भिडन्त आज राति हुँदै छ । यसपालीको च्याम्पियन्स लिगको उपाधिका लागि परम्परागत भन्दा नयाँ क्लबहरु फाइनलमा पुगेका छन् । जसमा इटालियन इन्टर मिलान र फ्रान्सेली पेरिस सेन्ट जर्मन छन् ।
आजको फाइनल भिडन्तमा धेरैको नजर फ्रान्सेली स्टार उसमान डेम्बेले र मिलानका अर्जेन्टाइन स्टार लाउटारो मार्टिनज माथि हुनेछ । किन भने यी दुवै खेलाडी खेलमा ट्विस्ट ल्याउन सक्ने खेलाडी हुन् । संयोग यस्तो परेको छ, डेम्बेलेले बार्सिलोनामा छँदा मेसीसँग खेलेका छन् भने मार्टिनेजले अर्जेन्टिनाको टिमबाट ।
फाइनल जर्मनीको म्युनिखमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ। यो सिजनको फाइनलमा धेरैले यी दुई टोलीलाई अपेक्षा गरेका थिएनन्। तर उनिहरुले ठूला प्रतिद्धन्द्धीलाई माथ दिंदै फाइनलमा स्थान बनाएका हुन्।
लुइस एनरिकको नेतृत्वमा युवा जोश भरपुर पिएसजीको फाइनलसम्मको यात्रा निकै प्रभावशाली रह्यो। यता इन्टर मिलान अनुभवी खेलाडीसहित रणनीतिक प्रशिक्षक सिमोने इन्जाघीको साथमा फाइनल पुगेको हो। इन्टरको खेल्ने शैली केहि भिन्न छ। तर टोलीकाे खेलाडीमा अनुभवको कमी छैन।
पिएसजीले नकआउट चरणमा प्रिमियर लिगका दुइ हस्ती लिभरपुल र आर्सनललाई हराउँदै फाइनलको यात्रा तय गरेको हो। इन्टरले स्पेनिस लिग, जर्मन ब्रुन्डाेस लिगा विजेता बार्सिलोना र बायर्न म्युनिखजस्ता सशक्त टोलीला पराजित गर्दै उपाधि नजिक पुगेको हो।
फाइनलमा खेल्ने दुई टोलीबीचको मुख्य भिन्नता उनीहरूको उमेर हो। इन्टरको सम्भावित सुरुवाती ११ खेलाडीको औसत उमेर ३० वर्ष ४ महिना छ ।पिएसजीको औसत उमेर २४ वर्ष ७ महिना मात्र छ।
इन्टरका ८ खेलाडीले दुई वर्षअघि च्याम्पियन्स लिगको फाइनल खेलेका थिए। यता पिएसजीका मार्किन्होससँग मात्र फाइनल खेलेको अनुभव छ। त्यसैले युवा जोश र अनुभवको भिडन्त फाइनलमा हुनेछ।
यो सिजनको पिएसजी अघिल्ला वर्षहरूको भन्दा निकै सन्तुलित देखिएको छ। किलियन एम्बाप्पे र नेयमार जस्ता स्टार खेलाडी बाहिरिएपछि पिएसजी अझै समर्पित र सामूहिक प्रदर्शनमा केन्द्रित देखिएको छ।
अचम्मको कुरा त के छ भने पिएसजीले पहिलोपटक प्रतिस्पर्धात्मक खेलमा इन्टर मिलानसँग भिड्दैछ। यो फ्रेन्च र इटालियन क्लबबीचको मात्र दोस्रो युरोपियन फाइनल हो। फ्रान्सका एकमात्र विजेता क्लब मार्सेईले सन् १९९३ मा म्युनिखमा एसी मिलानलाई हराउँदै उपाधि जितेका थिए। पीएसजीले जितेमा उसकाे नाममा इतिहास लेखिनेछ ।
प्रतिकृया दिनुहोस