• २०८२ जेठ २४ शनिबार
  • Saturday, 7 June, 2025

नेकपा एस आपत्कालिन छलफलमाः ओलीले मुद्दा हाल्न लगाएको प्रतिक्रिया

काठमाडौं । आफ्नो पार्टीका अध्यक्षमाथि नै भ्रष्टाचारको मुद्दा लागेर सांसद पद नै निलम्बनमा परेपछि विपक्षी दल नेकपा एकीकृत समाजवादीले आपत्ति जनाएको छ । समाजवादीको आपत्कालिन बैठक पार्टी कार्यालय सुविधानगरमा सुरु भएको छ । 

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा दर्ता भएकाे विषयमा छलफल गरी एकीकृत समाजवादीले औपचारिक धारणा सार्वजनिक गर्ने बताइएकाे छ ।

एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दा पूर्वाग्रह प्रेरित भएको प्रारम्भिक प्रतिक्रिया दिएकाे छ ।

समाजवादीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाएका छन् ।

भ्रष्टाचार मुद्दा दायर भएसँगै पूर्वप्रधानमन्त्री नेपालको सांसद पद पनि निलम्बनमा परेको छ ।

अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरिएकाे छ ।

पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहितलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उद्योग सञ्चालन गर्न भनी हदबन्दी छुट दिइएको जग्गा उद्योग सञ्चालन नगरी दुई महिनाभित्रै कानुनविपरीत बिक्री गर्न नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । 

मन्त्रिपरिषद्को निर्णयअघि जग्गा बिक्री गर्ने प्रस्ताव ल्याउन नेपालले तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई निर्देशन दिएका थिए । नेपाल मन्त्रिपरिषद्ले सोही प्रस्तावअनुसार जग्गा बिक्रीको बाटो खोलिदिएको थियो । तत्कालीन मन्त्री श्रेष्ठको भने गत वर्ष निधन भइसकेको छ । त्यसबेलाका मुख्य सचिव माधव घिमिरे पनि यस प्रकरणमा संलग्न थिए । १० वर्षअघि त्रिशूली नदीमा जिप दुर्घटना हुँदा उनी बेपत्ता भएका थिए । 

पूर्वप्रधानमन्त्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको यो पहिलो पटक हो। पतञ्जलीका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिन तत्कालीन प्रधानमन्त्री नेपालले नै निर्देशन दिएका थिए।

२०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको थियो । ११ जेठ २०६६ देखि २२ माघ २०६७ सम्म प्रधानमन्त्री रहेका नेपालले पतञ्जलीलाई हदबन्दीमा जग्गा खरिद गर्न दिन १८ माघ २०६६ मा मन्त्रिपरिषद्बाट निर्णय गराएका थिए तर दुई महिना नबित्दै ६ चैत २०६६ मा मन्त्रिपरिषद्बाट अर्को निर्णय गराई बेच्न स्वीकृति दिलाएका थिए । उक्त जग्गामा प्लटिङ गरिएको छ । 

नेपाल मन्त्रिपरिषद्ले ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएपछि पतञ्जलीले बनेपाको नासिकास्थान, साँगा, महेन्द्रज्योति र चलाल गणेस्थान क्षेत्रमा गरी ५ सय ९३ रोपनी ५ आना ३ पैसा किनेको थियो । त्यसपछि पतञ्जलीका तत्कालीन नेपाल प्रमुख शालिग्राम सिंहले ३ सय ५३ रोपनी १५ आना काष्ठमण्डप हाउजिङ कम्पनीलाई ११ असार ०६७ मा बेचेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर