अध्यक्ष नेपालविरुद्धको मुद्दा पार्टी सिध्याउने षडयन्त्र– समाजवादी

काठमाडौं । संसदकाे विपक्षी दल नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपाल विरूद्ध विशेष अदालतमा दायर भएको मुद्दालाई 'पार्टी विरूद्धको षड्यन्त्रको अर्को घटना' भएको ठहर गरेको छ।
पतञ्जली जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालसहित ९३ जना विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी अेालीकाे डिजाइन अनुसार मुद्दा दायर गरिएकाे समाजवादीकाे दावी छ ।
अध्यक्ष नेपाल विरूद्ध मुद्दा दायर भएपछि पार्टीको धारणा बनाउन आलोकनगरस्थित केन्द्रीय कार्यालयमा नेताहरू छलफलमा जुटेका थिए। छलफलपछि महासचिव घनश्याम भूसालले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको 'प्रारम्भिक धारणा' सार्वजनिक गरेका छन्।
'वर्तमान सरकारले राजनीतिक बदलाको भावनाबाट प्रेरित रही हाम्रो पार्टी विरूद्ध विगतदेखि नै षडयन्त्र गर्दै आएको कुरा विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्वजनिक गर्दै आएका थियौं,' महासचिव भूसालले भनेका छन्, 'यो हाम्रा विरूद्ध षडयन्त्र अर्को घटना हो भन्ने हाम्रो ठहर छ। त्यस्तो कुनै पनि षडयन्त्रको प्रतिवाद गरिने छ।'
विज्ञप्तिमा स्वयं पार्टी अध्यक्ष नेपालले 'नबिराउनु, नडराउनु' भनेर आफ्नो प्रारम्भिक धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै कानुनी प्रक्रियाको सामना गर्ने दृढता पनि नेपालले व्यक्त गरेको बताइएको छ।
पार्टी पंक्तिलाई कुनै पनि भ्रममा नपर्न आह्वान गर्दै महासचिव भूसालले भनेका छन्, 'अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दाका बारेमा गरिने कुनै पनि कुप्रचार र भ्रममा नपर्न पार्टी पंक्ति र जनसमुदायलाई अनुरोध गरिन्छ।'
त्यसअघि समाजवादीले कानुनका विज्ञहरू वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्व मन्त्रीसमेत रहेका गाेविन्द बन्दी लगायतसँग परामर्श गरेकाे थियाे ।
प्रतिकृया दिनुहोस