• २०८२ जेठ २४ शनिबार
  • Saturday, 7 June, 2025

 विपक्षी दलले देउवासँग कुरा गर्ने 

काठमाडौं । संसदको जारी अवरोधका विषयमा विपक्षीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा गर्ने भएको छ। आज बसेको विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नको लागि समिति बनाउने प्रतिबद्धता आए सदन चलाउन सकिनेबारे छलफल भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए ।

विपक्षी दलको नेतृत्व गरेर प्रचण्डले नै देउवासँग छलफल गर्नेछन्।

आज मात्रै प्रचण्डले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर काकी र प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेका थिए । त्यसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले संसद्को गतिरोध अन्त्यका लागि देउवासँग छलफल गर्ने बताएका थिए । 

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि प्रचण्ड र कांग्रेस सभापति देउवाबिच संसद्को गतिरोध अन्त्यका लागि छलफल हुने बताए । समय भने निश्चित भई नसकेको उनको भनाइ छ । उनीहरूबिच छिटै भेटवार्ता हुने कार्कीले बताए । 

सहमति गर्ने प्रयासमा सत्तारुढ दल र प्रतिपक्षी दलहरू लागेपछि प्रतिनिधिसभा बैठक आइतबार एक बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ । प्रतिपक्षीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर