• २०८२ जेठ २५ आइतबार
  • Sunday, 8 June, 2025

एमालेमा गुटबन्दीः ओली मोरङ पुग्दा विद्या भण्डारी झापामा

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा पुगेकी छिन् । आफू राजनीतिमा सक्रिय नै रहेको प्रतिक्रिया दिएको भोलिपल्ट पूर्वराष्ट्रपति भण्डारी ओलीको गृहजिल्ला झापा पुगेकी हुन् ।

आजदेखि शुरू हुने कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्न भण्डारी झापा पुगेकी हुन् । एमालेको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको प्रदर्शनीको उद्घाटन गर्न उनी झापामा आएकी हुन् ।  

भण्डारीले आजै नारी सञ्चार गृहले आयोजना गर्ने एक कार्यक्रममा पनि सहभागिता जनाएकी छन् ।

भण्डारी झापा पुग्दा प्रधानमन्त्री ओली भने आज मोरङ पुगे । मोरङको कटहरी गाउँपालिका–२ स्थित जीवन विकास सामुुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ हुने विश्वास पनि व्यक्त गरे । 

“जीवन विकास सामुुदायिक अस्पतालले पैसा नभएकै कारण उपचार नपाउने अवस्थाको हुन नदिने अठोट व्यक्त गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ । दुनियाँमा कमै मात्र यस्ता अस्पताल हुन्छन् ।’’, प्रधानमन्त्री ओलीले भने, “दुुई सय श्यैयाबाट तीन सय श्यैयामा अस्पताललाई स्तरोन्नतिसहित मेडिकल कलेज सञ्चालन गर्ने जीवन विकास समाजको योजना पूरा हुन सकोस् । सरकार आवश्यक सहयोग गर्न तयार छ ।’’

पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार मात्र आफू राजनीतिमा सक्रिय नै रहेको बताएकी थिइन् । विराटनगरमा शुक्रबारबाट शुरू भएको उपप्रमुखहरूको राष्ट्रिय भेलालाई सम्बोधनपछि कार्यक्रम स्थलबाट बाहिरिने क्रममा उनले यस्तो बताएकी थिइन् ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा फर्किएको प्रसंग उद्धृत गर्दै पत्रकारले सोधेको प्रश्नमा उनले आफू पनि राजनीतिमा सक्रिय नै रहेको बताएकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर