• २०८२ जेठ २५ आइतबार
  • Sunday, 8 June, 2025

एमाले अखिलको महाधिवेशन आजदेखिः यी हुन् अध्यक्षका प्रत्यासी 

काठमाडौं । सरकारकाे नेतृत्व गरिरहेकाे दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आज आइतबारबाट सुरू हुँदैछ। जेठ २८ गतेसम्म चल्ने राष्ट्रिय महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

आज बिहान ११ बजे त्रिवि स्मृति भवनमा महाधिवेशनको उद्घाटन गर्ने कार्यसूची रहेको अनेरास्ववियुका अध्यक्ष समिकुमार बडालले जानकारी दिए। बन्द सत्र पनि सोही हलमा हुनेछ।

उनकाअनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव चार सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।

३२ वर्षे उमेरहद लागेकाले वर्तमान १७ सदस्यीय पदाधिकारीमध्ये अधिकांश बिदा हुनेछन्। पाँच जना सचिवहरू प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भण्डारी मात्रै ३२ वर्षमुनिका छन्। अध्यक्षका लागि पाँचै जनाले आकांक्षा राखेका छन्।

उनीहरूमध्येबाटै नयाँ नेतृत्व चयन हुने सम्भावना रहेको अनेरास्ववियुका नेताहरूले बताएका छन्। 

ओलीले अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनको सन्देश दिएका छन् । जेठ २५ देखि सुरु हुने महाधिवेशनलाई लक्षित गर्दै बालुवाटारमा आयोजित भेटमा ओलीले सङ्गठनभित्र सहमतिको आधारमा नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएका हुन् ।

जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालको नेतृत्वमा बालुवाटार पुगेका पूर्वअध्यक्षहरु माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर, सुनिता बरालसहित वर्तमान पदाधिकारीहरूलाई अध्यक्ष ओलीले अनेरास्ववियुले नेतृत्व सहमतिमै चयन गर्न सुझाव दिएका थिए ।

जेठ ११ गते बसेको एमाले सचिवालय बैठकले अनेरास्ववियुमा ३२ बर्से उमेरहदको मापदण्ड लागू गर्ने निर्णय गरेको थियो । ओलीले उक्त उमेर निर्णय कार्यान्वयन गरेर अगाडि बढ्न पनि भनेका थिए ।

अनेरास्ववियुले क्याम्पस कमिटीका अध्यक्षहरू २८ वर्षभन्दा मुनिका नै चयन गरिसकेको छ। त्यस्तै २३ औं राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्यहरू पन ३० वर्षभन्दा मुनिका नै मनोनीत गरेको थियो।

पदाधिकारी तहमा ३२ वर्षे उमेरहद भने पहिलोपटक लगाउन लागिएको हो। माअेावादीकाे विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भने ३२ वर्षे उमेरहद लागू गरिरहेकाे छ । एमाले अखिलले पनि साेही नीति पछ्याएकाे हाे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर