अमेरिकाले डिपोर्ट गरेका ३७ नेपाली काठमाडौं आईपुगे

काठमाडौं । अमेरिकाले डिपोर्ट गरेका नेपालीहरू चढेको विमान काठमाडौं आइपुगेको छ। उनीहरूलाई बंगलादेशको ढाका हुँदै नेपाल फर्काइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
उक्त विमानमा ३७ जना नेपाली रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले जानकारी दिए।
उनीहरूलाई डिपोर्ट गरिएकोबारे दूतावासमार्फत एक साताअगाडि नै जानकारी आएको थियो। डिपोर्ट गरिएकाहरूलाई विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाउँछ।
ब्युरोले उनीहरू कसरी अमेरिका पुगे, दलालबाट ठगिएका पीडितहरू हुन् कि भनेर बुझ्न सोधपुछ गर्छ।
ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरका अनुसार त्यसरी फर्केकाहरूलाई ब्युरोले सामान्य सोधपुछ गर्नेछ। ठगिएर अमेरिका पुगेका हुन् भने त्यस्ता व्यक्तिहरूले दलालविरूद्ध उजुरी दिएपछि ब्युरोले अनुसन्धान अगाडि बढाउँछ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू धमाधम निष्कासनमा पर्दै आएका छन्।
निष्कासित परेका नेपालीहरू दिनहुँजसो काठमाडौं आउने गरेका छन्। त्यसो त अमेरिकाले नै चार्टर्ड विमानमार्फत यसअघि पनि नेपालीहरूलाई फर्काएको थियो ।
प्रतिकृया दिनुहोस