• २०८२ जेठ २६ सोमबार
  • Monday, 9 June, 2025

रोमाञ्चक खेलमा नेपालकाे ऐतिहासिक स्काेर तर २ रनकाे हार

काठमाडौं । आयोजक स्कटल्याण्डसँगको दोस्रो खेलमा नेपाल २ रनले पराजित भएको छ । निक्कै रोचक खेलमा नेपालले ओडिआई इतिहासमा सबैभन्दा धेरै ३२१ रनको स्कोट बनाए पनि अन्तिम ओभरमा ७ रन जोडन नसक्दा ऐतिहासिक जित भने हात पार्न सकेन । यसअघि ओमानविरुद्ध सन् २०२३ मा नेपालले ३ सय १० रन बनाएको थियो । 

नेपालका लागि भीम सार्कीले ८५ बलमा ८ चौकाको सहयोगमा ७३ रनको अर्धशतकीय इनिङ खेले । भीमले आरिफ शेखसँग मिलेर ९४ रनको साझेदारी गरे । शेख ५५ बलमा ५ चौकाको सहयोगमा ३९ रनमा आउट भए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकाको सहयोगमा ५६ रन जोडे । सातौ विकेटका लागि सोमपाल कामीसँग मिलेर दीपेन्द्रले १ सय ५ रनको महत्वपूर्ण साझेदारी गरे । सोमपाल ४४ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६७ रनमा आउट भए । 

अन्तिममा निक्कै अपेक्षा गरिएका करण केसीले भने निर्णायक भूमिका निभाउन सकेनन् । उनले १० बलमा १७ रन हानेर बाहिरिए । त्यसपछि सन्दीप लामिछानेले ३ बलमा ३ रन हाने । अन्तिममा मैदान छिरेका ललित राजब‌शीले एक बलमा ३ रन रन हान्नुपर्ने थियाे तर उनी बाेल्ड भएपछि नेपालले खेल हारेकाे हाे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २३ रनको विशाल योगफल तयार गर्यो ।

स्कटल्याण्डका कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । बेरिङ्टनले १ सय १४ बलमा ६ चौका र ४ छक्कासहित १ सय २ रनको योगदान गरे । बेरिङ्टन ४८औं ओभरको तेस्रो बलमा गुलशन झाबाट रन आउट भए ।

नेपालले ५।४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिँदै राम्रो सुरुवात गरेको थियो । तर, तेस्रो विकेटका लागि कप्तान बेरिङ्टन र चार्ली टेयरले ९४ रनको साझेदारी गरे ।

टेयरले ६५ बलमा ९ चौकाको सहयोगमा ६८ रन जोडे । चार्लीलाई स्पिन बलर ललित राजवंशीले आउट गराए । चार्ली २२ औं ओभरको पाँचौ बलमा आउट भए । त्यसपछि चौथो र पाँचौ विकेटका लागि खास साझेदारी बन्न सकेन ।

१७ रन जोडेका फिन्ले मक्रिथलाई दीपेन्द्र सिंह ऐरीले आफ्नै बलमा उत्कृष्ट डाइभ क्याच गर्दै पेभेलियन फर्काए । पाँचौ विकेटका रुपमा म्याथ्यु क्रस ३ रनमा आउट भए ।

तर, छैठौं विकेटका लागि कप्तान बेरिङ्टन र माइकल लिस्कले १ सय २५ रनको महत्वपूर्ण साझेदारी गरि टोलीलाई बलियो योगफलसम्म पुर्याए । लिस्कले ६२ बलमा १२ चौका र ३ छक्काको सहयोगमा अविजित ९६ रन बनाए ।

नेपाललाई पहिलो सफलता करण केसीले दिलाए । करणले शुन्यमा जर्ज मुन्सीलाई आउट गराए । दोस्रो सफलता पनि करणले नै दिलाए । उनले छैठौं ओभरको चौथो बलमा ब्रेण्डन मकमलनलाई ५ रनमा आउट गराए ।

नेपालले अरु खेलमा जस्तै डेथ ओभरमा धेरै रन खर्चियो। पछिल्लो १० ओभरमा १ सय २३ रन खर्चेर १ विकेट लियो । करण र दीपेन्द्रले समान २ तथा ललितले १ विकेट लिए ।

८ टोली सहभागी लिग टु मा स्कटल्याण्ड १९ खेलमा २४ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल १५ खेलमा १० अंकका साथ सातौं स्थानमा छ ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतवार बाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर