• २०८२ जेठ ३० शुक्रबार
  • Friday, 13 June, 2025

मोहन वैद्यको स्वास्थ्य अवस्था स्थिर, भेटघाट बन्द

काठमाडौँ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको छ । छातीमा समस्या देखिएपछि जेठ १५ देखि त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालमा भर्ना भएका वैद्यको स्वास्थ्य स्थिर रहेको पारिवारिक स्रोतले जनाएको छ ।

उनको टिचिङ अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । दम बढेपछि भर्ना भएका उनलाई निमोनिया देखिएको छ । ‘मुख्यगरी निमोनियाको उपचार भइरहेको छ,’ परिवारका एक सदस्यले भने, ‘परिवारका सदस्य र केही सीमित व्यक्तिबाहेकलाई भेटघाट बन्द गरिएको छ ।’

ती सदस्यका अनुसार वैद्यलाई अझै केही दिन आईसीयूमै राखेर उपचार गर्न चिकित्सकले सुझाव दिएका छन् । डा. निरज बमको टोलीले उनको उपचार गराइरहेको छ । उपचारका लागि लाग्ने खर्च परिवार र पार्टीमा जुटाउँदै आएको ती सदस्यले बताए ।

वैद्य बिरामी भएपछि उनको पार्टी र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमार्फत ‘इमान्दार नेता’ को रुपमा चित्रण गर्दै स्वास्थ्य सुधारको कामना गरेका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेताले अस्पताल पुगेर भेट गरेका छन् । 

माओवादीबाट २०६९ जेठमा अलग भएर वैद्यको नेतृत्वमा अर्को माओवादी गठन भएको थियो । ‘जनविद्रोह’को नीति लिइरहेका वैद्य गत मंसिरमा भएको महाधिवेशनबाट महासचिवमा सर्वसम्मत भएका थिए । उनी बिरामी परेपछि कार्यवहाक महासचिवको रुपमा सीपी गजुरेलले पार्टी संचालन गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर