संसद खुलाउन २ बुंदामा सत्ता पक्ष र विपक्ष सहमति नजिक, आज होला सुचारु ?

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज मध्यान्न १ बजेका लागि डाकिएको छ । पछिल्ला बैठकहरु लगातार अवरुद्ध र सूचना टाँसेर स्थगित हुँदै आएको सन्दर्भमा राजनीतिक दलहरु संसद सुचारु गराउन सहमति नजिक पुगेका छन् ।
भिजिट भिसा र अध्यागमनका विषयमा रहेको समस्या अध्ययन गर्न सत्तापक्ष तयार भएको छ भने यसमा प्रस्ट प्रतिबद्धता आए सदनको अवरोध हटाउने विपक्षी दलहरूले जनाएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखककाे सचिवालय नै मुछिएको भन्दै राजीनामाको माग गरेकाे विपक्षी अडानबाट हटिसकेका छन् ।
अख्तियारले त्रिभुवन विमानस्थलस्थित प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएपछि विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिनको माग राखेर प्रतिनिधिसभा बैठक चल्न दिएका थिएनन् ।
अध्यागमनले ‘सेटिङ’ मिलाई रकम असुलेर भिजिट भिसामा नागरिकलाई विदेश पठाउने गरेको अख्तियारको अनुसन्धानमा खुलेको थियो । प्रतिनिधिसभा बैठक अवरुद्ध हुँदा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलसमेत प्रभावित हुँदै आएको छ ।
भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेका कारण विपक्षी दलले सदनको अवरोध निःसर्त हटाउनुपर्ने अडान सत्तापक्षले राख्दै आएको थियो । तर सदन अवरोध लम्बिँदै जाँदा अध्यागमनको समस्या अध्ययन/छानबिन गर्न सत्तारूढ दलहरू तयार भएका हुन् । सहमति जुटाउन सत्तारूढ र प्रतिपक्षी दलहरूले बिहीबार दिनभर छलफल गरेका थिए ।
नेताहरूका अनुसार मुख्यतः दुई बुँदामा सहमति हुन लागेको छ । त्यसमा भिजिट भिसा प्रकरणमाथि अख्तियारले गरिरहेको अनुसन्धानमा सरकारले आवश्यक सहयोग गर्ने तथा अध्यागमन र भिजिट भिसाको समस्या समाधान गर्ने भनी लेख्ने तयारी छ ।
‘अध्यागमन र भिजिट भिसाका सम्बन्धमा देखिएका समस्या समाधान गर्न आवश्यक अध्ययन गरी नीतिगत, कानुनी र संरचनागत प्रश्नहरूमा उपयुक्त व्यवस्था/संरचनाका लागि ठोस पहल गरिनेछ भन्ने अर्को बुँदा पनि सहमतिमा लेख्ने तयारी छ,’ एक नेताले भने । अध्ययन तथा अनुसन्धानका लागि विपक्षी दलले प्रतिबद्धता मागे पनि सत्तापक्षबाट आउन बाँकी रहेको ती नेताले बताए ।
प्रमुख प्रतिपक्षी माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सत्तारूढ कांग्रेस र एमालेका साथै विपक्षी दलहरूसँग छलफल गरेका थिए ।
‘भिजिट भिसा प्रकरण र अध्यागमनको बेथितिबारे गम्भीर अध्ययन, छानबिन मुख्य विषय हो, गृहमन्त्रीको राजीनामा मुख्य होइन भन्नेमा हामी पुग्यौं,’ प्रचण्डले भने, ‘अध्ययन र छानबिनबारे लिखित समझदारी गर्ने ठाउँमा पुग्यौं । सत्तापक्षबाट छानबिन गर्ने प्रतिबद्धता नआई प्रतिपक्ष तयार हुने स्थिति भने छैन ।’
विगतदेखि नै रहेको अध्यागमनका विषयमा संरचना बनाएर अध्ययन र छानबिन गर्न पहल लिने सत्तापक्षबाट प्रतिबद्धता आएपछि सहमतिको वातावरण बनेको प्रचण्डको भनाइ छ ।
संसद्को अवरोध खुलाउन भएको छलफलमा कांग्रेसका तर्फबाट सहभागी महामन्त्री गगन थापाले दुवै पक्ष सहमतिनजिक पुगेको जानकारी दिए ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकार र प्रमुख प्रतिपक्षीबीचमा सहमति भएर संसद् अगाडि बढाउने तयारी भइरहेको बताए । रास्वपा उपसभापति स्वर्णिम वाग्लेले भने भिजिट भिसा र अध्यागमनको बेथितिमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि हट्ने अवस्था नरहेको बताए ।
प्रतिकृया दिनुहोस