• २०८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025

गृहमन्त्रीको स्पष्टीकरण: भिजिट भिसामा म माथि षडयन्त्र गरियो, नक्कली पीडित खडा गर्नेमाथि कारबाही गर्छु

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाका सांसदको वेलमा उभिएर नाराजुलुस गरिरहेका बेला अबराेधकाबीच बाेल्दै उनले आफूविरुद्ध षडयन्त्र गरेर राजनीतिक जीवन सिध्याउन खोजिएको बताएका हुन्।  

रास्वपाप्रति संकेत गर्दै उनले केही राजनीतिक दलमा नक्कली पीडित खडा गरेर किर्ते गरिरहेकाे सूचना पाएकाे बताउँदै उनले त्यस्ता किर्ते गर्नेलाइ कारबाही गर्ने उनले चेतावनी दिए ।

'विगत केही दिनदेखि पत्रपत्रिका, सामाजिक सञ्जाल र केही माननीयले उठाउनु भएको कुरामा सार्वभौम ठाउँमा जवाफ दिन उपयुक्त ठानेर समय मागेको थिएँ। समयको लागि आभार व्यक्त गर्छु,' उनले भने, 'धेरै कुरा मैले विभिन्न माध्यमबाट पनि जवाफ दिइसकेको छु। मेरो राजनीतिक र सार्वजनिक कुरा सबैलाई थाहा नै भएकोले सार्वजनिक पद धारण गरेकोले उठेका समसामयिक विषयमा जवाफ दिन उपयुक्त भएकोले यहाँ प्रस्तुत भएको छु।'

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गतको अध्यागमन कार्यालयका कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले बयान लिएको कुरा पनि आफूले सञ्चारमाध्यमबाटै थाहा भएको दाबी गरे। 

'कार्यालय प्रमुख तीर्थाज भट्टराईलाई अख्तियारले बोलाएको कुरा सञ्चारमाध्यमबाटै थाहा पाएको हुँ,' उनले थपे, 'यसमा मेरो संलग्नता भएको भनिएको कुरामा सत्यता छैन। मेरो संलग्नता हुन सक्दैन भन्न चाहन्छु। राजनीतिक रुपमा षडयन्त्रपूर्वक खेद प्रकट गर्न चाहन्छु।' 

उनले संवैधानिक निकायले छानबिन गरिरहेको विषमा सरकारलाई जोड्न नहुने र यसरी प्रश्न उठ्दा हिजोका दिनमा कति मन्त्रीले जवाफ दिएका थिए भन्दै प्रतिप्रश्नसमेत गरे। 

विगतका मन्त्रीहरूका पालामा अहिले भन्दा धेरै भिजिट भिसामा विदेश गएकाे उनले फेहरिस्त प्रस्तुत गरे ।

‘भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन र हुनै सक्दैन। मेरा विरुद्धमा नियोजित रूपमा षड्यन्त्र भएको छ । त्यसको म खेद प्रकट गर्न चाहन्छु,’ उनले भने। संवैधानिक निकायले अनुसन्धान गरिरहेका बेला मन्त्रीहरूलाई छानबिन गर्दै जाने हो भने कुनै पनि मन्त्री बाँकी नरहने उनको भनाइ छ। ‘यसअघि यस्ता विषयमा कति जना मन्त्रीले जवाफ दिनुभएको छ,’ उनले प्रश्न गरे । उनले भ्रष्टाचार नियन्त्रणका लागि आफू थप क्रियाशीलता रहने र अनुसन्धानमा कुनै प्रभाव पार्ने काम नगर्ने बताए। ‘अनुसन्धानमा प्रभाव पार्ने काम हुनु हुँदैन भन्ने म स्पष्ट छु। गृहमन्त्री पदको दुरुपयोग गरेको भन्ने कुरा गलत छ। म त्यस्तो गर्दिनँ,’ उनले भने।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर