प्रचण्ड–सभामुख भेटः खुल्ला अवरुद्ध प्रतिनिधि सभा ?

काठमाडौं । केही दिन यता जारी प्रतिनिधि सभा अवरुद्धताको अवस्था अन्त्य गर्नका लागि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।
प्रतिपक्षी दलका सांसदहरूको निरन्तरको अवरोधले प्रतिनिधि सभा बैठक चल्न नसकेपछि बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन। विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकमाथि लागेकाे भिजिट भिसा प्रकरणबारेकाे विषयकाे निरूपण पहिला हुनुपर्ने माग गरेका छन् ।
जेठ १५ गते सदनमा बजेट पेस गर्न दिएका प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले त्यसपछि बजेट छलफल गर्ने कार्यसूचीमै प्रवेश गर्न दिएका छैनन्।
माओवादी र एकीकृत समाजवादी भने गृहमन्त्रीको राजीनामा मागबाट लचक बनेको अवस्था छ भने रास्वपाले उक्त अडान छाडेको छैन।
सत्तापक्ष कांग्रेस र एमाले भने गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने र छानबिन समिति गठन नगर्ने अडानमा छन्। सत्ता र प्रतिपक्षी आ-आफ्ना अडानमा हुँदा बजेटमाथि छलफल हुन सकेको छैन।
सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरले बजेटमाथि छलफल गर्नुपर्ने र अब समय पनि धेरै नरहेको भन्दै बिहीबार प्रमुख प्रतिपक्षी दल नेता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गरेका छन्।
छलफलमा माओवादी प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी थिए।
प्रतिनिधि सभाको बैठक आज अपराह्न ३ बजेका लागि बोलाइए पनि निर्धारित समयमा बैठक बस्न सकेको छैन।
प्रतिकृया दिनुहोस