अहमदावाद विमान दुर्घटना अपडेट : २४१ जनाको मृत्यु, एक जना बाँच्न सफल

एजेन्सी । भारतको गुजरात राज्यको अहमदाबादमा २ सय ४२ जना सवार एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २ सय ४१ जनाको मृत्यु भएको पुष्टि भएको छ।
एयर इन्डियाले आफ्नो विमान नम्बर एआई १७१ मा २४२ जना यात्रु सवार रहेको जनाएको छ। तीमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको उल्लेख गरेको छ। एक जना जीवित यात्रुको मात्र अस्पतालमा उपचार भइरहेको छ।
मृत्यु हुनेमा २४१ यात्रु र चालक दलका सदस्य रहेका छन्। यसमा अन्य मृत्युको संख्या समावेश गरिएको छैन। विमानमा १६९ भारतीय, ५३ बेलायती, एक पोर्चुगिज र एक क्यानेडियन नागरिक सवार थिए। विमान दुर्घटनामा बाँचेका मध्ये एक जना भारतीय मूलका बेलायती नागरिक हुन्।
विमान बीजे मेडिकल कलेजको होस्टेल भवनको माथिल्लो तलामा ठोक्किएको थियो। मेडिकल कलेजमा डाक्टरी पढिरहेका थुप्रै विद्यार्थी पनि सो दुर्घटनामा घाइते भएका छन्। अहमदावाद प्रहरीका अनुसार २५ जनाको घाइतेको विवरण सार्वजनिक भएको छ।
अहमदाबादबाट लन्डन जान लागेको विमानमा २३० यात्रु, दुई पाइलट र १० चालक दलका सदस्य गरी कुल २४२ जना सवार थिए। यात्रुहरूमध्ये २१७ जना वयस्क, ११ बालबालिका र २ जना शिशु रहेका थिए। विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणी पनि सवार सवार थिए।
अहमदाबादको सरदार बल्लभ भाई पटेल विमानस्थलबाट उडेको केही क्षणमै बोइङ सेभेन एट सेभेन ड्यास एट ड्रिमलाइनर विमान दुर्घटनामा परेको हो।
स्थानीय समयअनुसार बिहिीबार दिउँसो १ बजेर ३९ मिनेटमा सो विमान उडेको र त्यसको केही सेकेन्डमै ६ सय २५ फिटको उचाइमा विमानको संकेत हराएको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू स्तब्ध र दुःखी भएको भन्दै शोक व्यक्त गरेका छन्। बेलायतका राजा चार्ल्सले पनि आफू र रानी क्यामिला दुवै उक्त डरलाग्दो दुर्घटनाबाट अत्यधिक स्तब्ध भएको उल्लेख गरेका छन्। यस्तै क्यानडा र पोर्चुगलका प्रधानमन्त्रीहरूले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
नेपालका राष्ट्रपति रामचन्द्र पाैडेललगायतका नेताहरूले पनि भारतलाइ परेकाे दुःखद् अवस्थाप्रति समवेदना व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस