• २०८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025

सत्तासँग २ बुंदे सहमति गरेपछि विराटनगरमा प्रचण्डमाथि प्रश्नको वर्षा

विराटनगर । हिजो मात्रै १८ दिन यता अवरुद्ध संसदको बैठक सुचारु भएको थियो । यसका लागि प्रमुख प्रतिपक्षी दल नै लचिलो भयो ।

बरु सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले सबै भन्दा कठोर । भिजिट भिसा प्रकरणमा जोडिएको दल नेपाली कांग्रेसले भने यो विषयमा समाधानको विकल्प खोल्न पहल गरेको थियो । 

प्रमुख प्रतिपक्षी माओवादीले यस काण्डमा अडान छोडेको भनेर राप्रपा र रास्वपाले आरोप लगाए । माओवादीकै कतिपय नेता कार्यकर्ता पनि सन्तुष्ट देखिएनन् । यस्तो सन्दर्भमा पूर्वी नेपाल पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दर्जनौं प्रश्नको सामना गर्नु परेको छ  

प्रचण्डले सत्तारुढ दलहरूसँग भएको दुई बुँदे सहमति अनुसार छानविनको प्रक्रिया अगाडि नबढेमा एक महिनापछि फेरि विरोधमा उत्रिने बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरणको समग्र पक्ष छानविन गरि समस्या समाधान गर्न समिति बनाउने सहमति भएको बताए ।

सदनबाट निजामति, शिक्षासहितका महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले पनि सहमतिमा जानुपरेको बताउँदै प्रचण्डले सदन अवरोधले मात्र निकास ननिस्कने जिम्मेवारी प्रतिपक्षले लिएको दावी गरे । सदनको अबरोध खुलेपछि संसदबाट गृहमन्त्रीले आफ्नो विरुद्ध उजुरी गर्नेहरुलाई धम्की दिएको विषयमा पत्रकारको प्रश्नमा प्रचण्डले त्यसको जिम्मेवार लेखक नै हुने उल्लेख गरे ।

‘सुशासनको निम्ति भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा हाम्रो जोड रहन्छ । अध्ययन गहिरो गरी हुनुपर्‍यो, संरचना बन्नुपर्‍यो। त्यो कुरामा सहमति भएको छ’ उनले भने ।

पार्टी उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साट्यो भन्ने आरोपलाई इन्कार गर्दै प्रचण्डले त्यसलाई वाहियात प्रचार भएको बताए । ‘यो वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्‍या छन् । त्यस्तो केही होइन’ उनले भने, ‘भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध छैन।’

दुई बुँदे सहमतिपछि माओवादी सत्तामा जान चाहेको हो प्रश्नमा प्रचण्डले अहिले सत्तारुढ दलसँग भएको सहमति सत्तासँग सम्बन्धित नरहेको जिकिर गरेका छन् । काँग्रेससँग सम्बन्ध सुधार भएकोबारे सोधिएको प्रश्नमा उनले अहिले भएको सहमति र भिजिट भिसा प्रकरणको छानविन कसरी अगाडि बढ्छ, त्यसमा निर्भर रहने बताए ।

भिजिट भिसा प्रकरण आफूहरुले उठाएको सुशासन एजेण्टाकै विषय भएकोले त्यसको गहिरो छानविन हुनुपर्ने बताउँदै प्रचण्डले भने, ‘गहिरो अध्ययन हुनुपर्यो, संरचना बन्नुपर्यो त्यो कुरामा सहमति भएपछि हामीले अहिलेको आवश्यकता अनुसार देशको निम्ति सहज गरेका हौं ।’

भिजिट भिसा प्रकरणका आरोपित गृहमन्त्री रमेश लेखकमाथि छानविन हुनुपर्ने माग गर्दै जेठ १३ देखि निरन्तर संसद् बैठक अवरुद्ध भइरहेकोमा माओवादी केन्द्रले शुक्रबार सत्तारुढ दलहरुसँग २ बुँदे सहमति गरेपछि सदन सुचारु भएको थियो । त्यसबारे माओवादीले आत्मसमर्पण गरेको, काँग्रेस र एमालेसँग मिलेको भन्दै आलोचना भइहरेको बेला प्रचण्डले त्यसको खण्डन गरेका हुन् ।

पार्टीका उपमहासचिव जनार्दन शर्मालाई पाछी छोड्न भनेको भन्दै आएको समाचारको पनि प्रचण्डले खड्न गरे । ‘त्यस्तो भनेकै छैन, गलत विषय हो’ उनले भने । यसअघि प्रचण्डले पटक–पटक शर्मालाई पार्टी छाड्ने भनेको समाचार सार्वजनिक भएपछि माओवादी पंक्ति तरंगित बनेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर