• २०८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025

पार्टी भित्रका भ्रष्टाचारीलाई कांग्रेसले बोक्न सक्दैन– गगन थापा

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै सदस्य भ्रष्टाचारमा संलग्न देखिए त्यसको भारी पार्टीले नबोक्ने बताएका छन्। तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले व्यक्ति चुके पनि पार्टी चुक्न नहुने बताए।

उनले भने, ‘भ्रष्टाचारको विषयमा कुनै पनि पार्टी सदस्यको संलग्नता भएको कुरा आयो भने त्यसको भारी उसैले बोक्नुपर्छ, यसमा कांग्रेसले कसैसँग सम्झौता गर्दैन ।

व्यक्ति चुक्न सक्ला, कोही भ्रष्टाचार, कोही प्रेस स्वतन्त्रता, कोही सार्वजनिक जबाफदेहिताको विषयमा चुक्ला, तर पार्टीको पोजिसन एउटै रहन्छ ठिक ढङ्गले प्रस्तुत हुन्छ।’

उनले जनतामा देखिएको असन्तुष्टि हटाउनको लागि सरकार र जनप्रतिनिधिले डेलिभरीमा ध्यान दिनुपर्ने बताए। उनले कांग्रेसले काम गरेको भए पनि प्रचार गर्न नजानेको पनि औँल्याए।

‘०८३ को मंसिर अगाडि नै पार्टी महाधिवेशन हुन्छ’
महामन्त्री गगनकुमार थापाले २०८३ साल मंसिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन्। उनले ०८४ सालको आम निर्वाचनपछि अधिवेशन हुन्छ कि भन्ने आशंका भए त्यो भ्रमबाट बाहिर निस्किन आग्रह गरे। महाधिवेशन सार्न नेपाली कांग्रेस पार्टीले आफूले चाहेर मात्रै नहुने भन्दै अदालती समस्या हुने उनको भनाइ थियो।

‘हामी २०८३ साल मंसिर भन्दा अगाडि नै हामीले अधिवेशन गरिसक्नुपर्छ । तपाईंहरु कसैको दिमागमा कहीँ कतै यो ०८४ सालको निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने आशंका छ भने त्यो भ्रमबाट निस्किहाल्नुस्,’ उनले भने, ‘नेपाली कांग्रेस पार्टीले आफूले चाहेर, हामी सबै मिल्यौँ ल, पार्टी सभापति शेरबहादुर देउवादेखि अहिलेका भुतपूर्व पदाधिकारीहरु एउटा समूह बनेको छ, सबै मिल्यौँ ल, शेखर कोइराला, शशांक कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भन्यौँ भने पनि त्यो अदालतले लगेर देखाइदिन्छ, पाइँदैन। कोही कुनै पार्टीसँग मिलेर पनि पाइँदैन । नयाँ नाम फेरे पाइन्छ। अधिवेशनका बारेमा कोही पनि कन्फ्युजनमा नरहनु होला।’

उनले पार्टीको महाधिवेशन गराउने अन्तिम समय भनेको ०८३ को मंसिर भएको बताए।

‘हामीसँग लास्ट डेट भनेको ०८३ को मंसिर हो। त्यहाँसम्म पुर्‍याउनु हुन्न । त्यसले हाम्रो स्थानीय चुनावलाई प्रभावित गर्दछ,’ उनले भने, ‘सकेसम्म अगाडि तान्नु पर्छ।

तपाईंहरुले जति छिटो क्रियाशिल सक्याइ दिनुहुन्छ, त्यति छिटो हामी अधिवेशनमा लिएर जानसक्छौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर