• २०८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025

इजरायल–इरान चर्कियो युद्धः मिसाइलकाे वर्षा

एजेन्सी । इजरायलले दोस्रो दिन शनिबार पनि इरानविरुद्धको हवाई आक्रमणलाई निरन्तरता दिएको छ । इरान पनि जवाफी हमलामा उत्रिएको छ ।

पश्चिम एसियाली दुई मुलुकबीच तनाव चर्किंदा विश्व नै तरंगित भएको छ ।इरानविरुद्ध ‘अपरेसन राइजिङ लायन’ चलाइरहेको इजरायलका अधिकारीहरूले डेढ सयभन्दा बढी निसानामा आक्रमण गरिएको जनाएका छन् ।

अपरेसन राइजिङ लायन : इजरायलले शुक्रबार बिहान सुरु गरेको सैन्य अपरेसन विगत ३० वर्षयताकै ठूलो हमला मानिएको छ । इजरायलका दुई सय जहाजले एक सयभन्दा बढी निसानामा हमला गर्दा इरानका सेना प्रमुखसहित शीर्ष कमान्डर तथा ६ जना आणविक वैज्ञानिक पनि मारिए ।

हमलामा अहिलेसम्म ८० जना मारिएको त्यहाँको सरकारले पुष्टि गरेको छ । इजरायलले नतान्ज, एस्फहान, अरेक, फोर्दोमालगायतका आणविक केन्द्र, क्षेप्यास्त्र अड्डा, एयरबेस र विमानस्थललाई निसाना बनाएको छ ।

इरानमा क्षति : इरानी सेनाका प्रमुख मोहम्मद बाघेरी तथा रिभोलुसनरी गार्डस्का प्रमुख होसेन सलामी नै मारिएकाले इरानको मनोबलमा अभूतपूर्व धक्का लागेको छ । त्यस्तै नतान्जस्थित आणविक केन्द्रको संरचना पूर्णरूपमा ध्वस्त बनाएको इजरायलको दाबी छ । इजरायली जासुसी संस्था मोसादले इरानभित्रैबाट ड्रोन हमला गरिरहेको छ । त्यस्तै इरानको पश्चिमी हवाई क्षेत्र पूर्ण नियन्त्रणमा लिएको इजरायलको दाबी गरेको छ ।

अपरेसन ट’ प्रमिस–थ्री : शुक्रबार साँझदेखि इरानले सुरु गरेको प्रत्याक्रमणमा सयौं ड्रोन र १ सय ५० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । इजरायली सेना आईडीएफको मुख्यालयलाई निसाना बनाएको इरानले त्यहाँ पनि गम्भीर क्षति पुर्‍याएको दाबी गरेको छ । उता इजरायलले धेरैजसो आक्रमण निस्तेज बनाए पनि केही क्षेप्यास्त्र तेलअवीवमा खसेका छन्, जसले केही संरचनामा क्षति गरेको छ । इरानी आक्रमणमा चार इजरायली मारिएका छन् भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।

‘वाक्युद्ध जारी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले आक्रमण रोकेन भने ‘तेहरान जल्नेछ’ भनेर चेतावनी दिएका छन् । उता इरानी सर्वोच्च नेता आयोतोल्लाह अलि खोमेनीले ‘आफ्ना कमान्डरहरूको सहादतको मूल्य उठाउन इरानलाई कुनै पनि शक्तिले रोक्न नसक्ने’ दाबी गरेका छन् । उनले सेनापतिसहितका पदमा नयाँ कमान्डरलाई बढुवा गरेका छन् र यो युद्धमा साथ दिन जनतालाई आह्वान गरेका छन् ।

अमेरिकी भूमिका : इरानको आणविक कार्यक्रम र उसमाथि जारी नाकाबन्दीका विषयमा अमेरिका र इरानबीच आइतबार ओमनको मस्कटमा वार्ताको तयारी थियो । तर, आफूमाथि भयानक आक्रमण भएकाले अब वार्ताको कुनै औचित्य नभएको प्रतिक्रिया इरानले दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इजरायली हमलामा अमेरिकाको कुनै भूमिका नभएको दाबी गर्दै ‘वार्ताबाट भागे इरानको आत्मघाती र ऐतिहासिक भूल हुने’ चेतावनी दिएका छन् । अमेरिकाले अहिलेसम्म हमलामा प्रत्यक्ष भाग नलिए पनि इजरायली प्रतिरक्षा प्रणालीलाई भने सहयोग गरिरहेको छ ।

आईएईएको प्रतिवेदन : इजरायली आक्रमणबाट इरानको आणविक संरचनामा गम्भीर क्षति पुगेको प्रतिवेदन अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) ले दिएको छ । तर, आक्रमणबाट विकिरण चुहावटको कुनै संकेत नदेखिएको प्रतिवेदनमा उल्लेख छ । अन्य आणविक केन्द्रहरू इरानले तीव्र रूपमा काम गरिरहेकाले जोखिम भने बाँकी रहेको सो संस्थाले जनाएको छ ।

विश्वको सबैभन्दा ठूलो ग्यास प्रशोधन केन्द्रमा हमला : दक्षिण इरानको अबादन प्राकृतिक ग्यास प्रशोधन केन्द्रमा इजरायलले ड्रोन हमला गरेपछि त्यहाँ भीषण आगो लागेको छ । अबादन विश्वकै सबैभन्दा ठूलो र पुरानो प्राकृतिक ग्यास प्रशोधन केन्द्र भएको दाबी गरिएको छ । उक्त केन्द्रमा भएको क्षतिले इरानलाई आर्थिक रूपमा कमजोर बनाउने मात्र होइन, पेट्रोलियमको अन्तर्राष्ट्रिय बजारमा तत्कालै नकारात्मक असर पर्ने विश्लेषण छ ।

तेल र विश्वबजारमा असर : इजरायल–इरान युद्धले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ११ प्रतिशतसम्म बढेको छ । त्यस्तै, इरान, इराक, जोर्डन र इजरायलका हवाईमार्ग अहिले अवरुद्ध छन्, यसले अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया : संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, जी–सेभनलगायतले संयम अपनाउन दुवै देशलाई आग्रह गरेका छन् । त्यस्तै, इजरायलले अन्तर्राष्ट्रिय कानुन र इरानको सार्वभौमिकतामाथि आक्रमण गरेको भन्दै साउदी अरबले आलोचना गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पसँग शनिबार टेलिफोन संवाद गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायली हमलाको निन्दा गरेका छन् । इजरायललाई उक्साएको भन्दै इरानले अमेरिका, बेलायत र फ्रान्समाथि पनि आरोप लगाएको छ ।

इरानले प्रहार गरेका ड्रोन र अधिकांश क्षेप्यास्त्र आकाशमै निस्तेज पारिएको पनि इजरायली सेनाको भनाइ छ । इरानले प्रहार गरेका केही क्षेप्यास्त्र राजधानी तेलअभिभमा खस्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ । त्यसमा परी करिब सय जना घाइते भएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । जेरुसेलममा पनि विस्फोटको आवाज सुनिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । इजरायलले स्थानीय समयअनुसार शनिबार साँझ साढे ८ बजेदेखि आइतबार साँझ ८ बजेसम्म जमघट, अत्यावश्यक बाहेकका सेवा र शिक्षण संस्था मुलुकभर बन्द गरेको छ ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टानियो गुटेरेसलाई इजरायली सेनाविरुद्ध तत्काल कारबाही गर्न आग्रह गरेका छन् । फोन वार्तामा अराघचीले इजरायली आक्रमणले इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको अधिकारमाथि प्रहार गरेको तर्क गरेका छन् । राष्ट्रसंघीय सुरक्षा परिषद् तथा समग्र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि आफ्नो जिम्मेवारी पूरा गर्नॅपर्नेमा जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर