• २०८२ असार २ सोमबार
  • Monday, 16 June, 2025

कांग्रेसकै सांसदले गरे बजेटकाे विराेधः बजेटले अनुमान गरे जस्तो आम्दानी हुनसक्दैन 

काठमाडौँ । सत्तारुढ दलकै नेताहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधि सभा बैठकमा विराेध गरेका छन् । पूर्वअर्थमन्त्री तथा कांग्रेस सांसद प्रकाशशरण महत, सांसद राजेन्द्र बजगाँइलगायतले विराेध जनाएका छन् । 

महतले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेजस्तो आम्दानी नहुने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा 'आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल' मा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

अन्तर्राष्ट्रिय अनुदान प्रस्ताव गरिएकोअनुसार प्राप्त नहुने अवस्था रहेको र वैदेशिक ऋणसमेत सोही अनुपातमा कार्यान्वयन हुने सम्भावना नरहेको उनले बताएका छन् । राजस्वको लक्ष्य हासिल गर्न कठिन रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले मिहिनेत गर्नुपर्नेमा उनले जोड दिएका छन् । कांग्रेसका प्रवक्ता समेत रहेका महतले बजेटमा उल्लेख गरिएको आम्दानीको स्रोत जुटाउन कठिन हुनेमा दुई मत नरहेको स्पष्ट पारे ।

'बजेटले जुन आम्दानीको अनुमान गरेको छ, त्यो आम्दानी चाहेजस्तो हुने अवस्था छैन। विदेशी अनुदान, अन्तर्राष्ट्रिय अनुदान हामीले प्रस्ताव गरेअनुसार प्राप्त हुने अवस्था छैन । वैदेशिक ऋण पनि त्यही हिसाबले कार्यान्वयन हुने अवस्था छैन । र राजस्वको जुन लक्ष्य राखिएको छ, पहिलेभन्दा घटाइएको छ । तैपनि, यो लक्ष्य प्राप्त गर्न धेरै मिहिनेत गर्नुपर्नेछ,' उनले भने ।

बजेमा देखाइएअनुसार आम्दानी नजुट्ने भएकाले विनियोजनमा समस्या आउने उनको भनाइ छ । उनले आगामी बजेटले सामाजिक सुरक्षा भत्तामा समसामयिक रूपमा सुधार गरेर केही बचत गर्ने प्रयास गरेको पनि बताएका छन् ।

कांग्रेसका सांसद बजगाईंले आउँदो आर्थिक वर्षको बजेटको विरोध जनाएका छन्। आज आइतबार प्रतिनिधिसभा बैठक चलिरहँदा उनी दर्शकदीर्घामा पुगेर आर्थिक वर्ष ०८१/०८२ को बजेटमाथि विरोध जनाए।  

उनले गोरखाको बजेट काटिएको विषयमा ध्यानाकर्षण गराएका छन्। 'सम्माननीय केपी शर्मा ओली, नेपालका प्रधानमन्त्रीज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ। बूढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ,' उनले वक्तव्यमार्फत भनेका छन्, 'नेपालको अर्थतन्त्र चलायमान गर्न कहाँकहाँ अवरोध छन् त्यो पनि थाहै छ!' 

उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशको भूगोल र प्रजातन्त्रको आधारभूत तत्त्व भनेको नागरिकका मौलिक अधिकार र स्रोतसाधनको समान वितरण हो भन्ने नबुझेको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर