• २०८२ असार २ सोमबार
  • Monday, 16 June, 2025

रास्वपाका सांसद पलेटी कसेर बसे, कांग्रेसका सांसद दर्शक दिर्घामा पसे

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफल चलिरहँदा संघीय संसदको प्रतिनिधि सभामा केही रोचक दृष्यहरु देखिएका छन् ।

विपक्षी दलले सरकारले ल्याएको बजेटको विरोध गर्नु स्वभाविकै हो  तर सत्ता पक्षकै सांसदहरुले पनि बजेटको विरोध गरे । विरोध गरेर मन्तव्य दिने मात्रै होईन कांग्रेसका एक सांसद त बैठक कक्ष नै छोडेर दर्शक दिर्घामा गएर बसे । 

प्रतिपक्षीको विरोधबीच बैठक कार्यसूचीमा प्रवेश गरेर लामाे समय बस्न थालेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू बाहिरिए भने उभिँदा थाकेपछि रास्वपाका सांसदहरू पलेटी कसेर बसे ।

सुरूमा उठेर नाराबाजी गरेका उनीहरू अहिले वेल अगाडि पलेँटी कसेर बसेरै नाराबाजी गरिरहेका छन्। 

कांग्रेसका सांसद राजेन्द्र बजगाईं दर्शक दीर्घामा उभिए। उनी त्यहाँ विरोध जनाउन पुगेका थिए। 

गोरखाका पर्याप्त बजेट विनियोजन नगरेको र योजना पनि काटेको भन्दै विरोधका लागि उनी त्यहाँ पुगेका हुन्। विरोध लगत्तै उनले नोट पनि जारी गरेका छन्।

‘सम्माननीय केपी शर्मा ओली नेपालका प्रधानमन्त्रीज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ। बूढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ। नेपालका अर्थतन्त्र चलायमान गर्न कहाँकहाँ अवरोध छन् त्यो पनि थाहै छ! भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालजी, तपार्इंले नेपालको भूगोल र प्रजातन्त्रको आधारभूत तत्त्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण हो भन्ने बुझ्नु भएन,’ उनले भनेका छन्।

भौतिक मन्त्रीले गोरखाको बिनासडकको पुल निर्माण गर्ने तत्कालीन पूर्वाधारमन्त्रीको पक्षपोषण गरेको पनि आरोप लगाएका थिए।

‘बजेटको विरोध दर्शक दीर्घाबाटै गर्नुपर्ने परिस्थिति हुनु दुखद विषय हो,’ उनले भनेका छन्, ‘प्रजातन्त्रको आधारभूत तत्त्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्री माननीय देवेन्द्र दाहालले न त प्रजातान्त्रिक मूल्यको मर्म बुझेका छन्, न त देशको भूगोलप्रति आवश्यक समझदारी राख्छन्।’

भौतिक मन्त्री दाहाल गोरखा मात्र होइन, देशभरिका लागि बजेटको न्यायसंगत वितरण गर्न अयोग्य देखिएको उनले आरोप लगाएका छन्।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर